गुगल तस्विर ।

हेटौँडाः सोमबार हेटौँडा र छिमेकी जिल्ला बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ चुरियामाईमा दुर्घटनामा परी दुइजनाको मृत्यु भएको छ । हेटौंडामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा–१०, बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ् रहेको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जानकारी दिएको छ ।

सोमबार साँझ ७ बजेर ५० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालयको मोडमा शिवम सिमेन्टबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६ ख ८८९० नम्बरको ट्रकले बाटो काट्दै गरेका घिसिङ्लाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घिसिङ्को दुबै खुट्टा र टाउकोमा चोट लागेको थियो । घाइते घिसिङ्लाई उपचारका लागि हेटौँडा अस्पतालमा लागिएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार दिउँसो ४ बजेको समयमा बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२३ चुरियामाई नजिकै मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको प्र २–०३–०१२ प ८८५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बायाँतर्फ अन्दाजी ३० फिट तल खस्दा मोटरसाइकल चालक मकवानपुरको हेटौँडा–१५ का ३५ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी शरीरको विभिन्न भागमा चोट लागी घाईते भएका तामाङको उपचारको क्रममा हेटौँडा अस्पतालमा दिउँसो करिब ५ बजेको समयमा मृत्यु भएको हो ।