हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३, कुटीभकारीमा झोलुङ्गे पुल तयार भएको छ । संघीय सरकारको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत पुल निर्माण भएको वडाध्यक्ष कमानसिंह पाख्रिनले जानकारी दिनुभएको छ । संघीय सरकारको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गतको ३८ लाख ८७ हजार रुपैयाँ, गाउँपालिकाको ५ लाख ६३ हजार रुपैयाँ र ८७ हजार रुपैयाँ जनश्रमदानको लागतमा पुल निर्माण भएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो ।
वडामा पहिलो पटक झोलुङगे पुल निर्माण भएपछि त्यहाँका जनताहरुले चिरुवा खोला सहजै वारपार गरी वडा कार्यालय आवतजावत गर्न, विद्यार्थीहरु विद्यालय आवतजावत र स्वास्थ्य कार्यालय आवतजावत गर्न सजिलो भएको अध्यक्ष पाख्रिनले बताउनुभयो । पुलको अनुगमन भएपछि केही दिनमा पुलको उद्घाटन गरिने उहाँले बताउनुभयो । करिब ३ महिनामा पुल निर्माण सम्पन्न भएको हो । पुल ८१ मिटर लम्बाई र डेढ मिटर चौडाईमा निर्माण भएको हो ।
यस वर्ष पनि वडामा झोलुङ्गे पुल निर्माणका लागि बजेट परेको उहाँले जानकारी दिनुभयो । यस वर्ष गढनमा १ सय २० मिटरको झोलुङ्गे पुलका लागि बजेट विनियोजन भएर टेण्डर आह्वान भएसकेको अध्यक्ष पाख्रिनले बताउनुभयो । भौगोलिक हिसाबले खोला खहरे बढी रहेको वडाले थप ४ स्थानमा पुल निर्माणका लागि प्रस्ताव गरेको उहाँले बताउनुभयो ।











