नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती आज असार २९ गते देशभर विविध साहित्यिक कार्यक्रम गरेर मनाइँदैछ । आदिकवि भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीवेशीको रम्घा गाउँमा भएको थियो । परम्परागत संस्कृत शिक्षा र ज्योतिष शास्त्रको अध्ययन गरेका भानुभक्तले नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका छन् । सामान्य घाँसीको प्रेरणाबाट साहित्यिक लेखनमा लागेका भानुभक्त तत्कालीन नेपाली ग्रामीण परिवेश सुहाउँदो साहित्य रचनाबाट प्रसिद्ध भएका हुन् । भानुभक्तका अनुवादित कृतिहरुमा रामायण महाकाव्य, प्रश्नोत्तरमाला र रामगीता रहेका छन् । उनका अन्य कृतिहरुमा बधुशिक्षा, भक्तमाला र फुटकर कविताहरु पनि छन् । भानुभक्तका साहित्यिक कृतिहरुमा नेपालीपन, नेपाली संस्कृति र नेपाली कला झल्किएको छ । साहित्यमार्फत् नेपाली ग्रामीण परिवेशका कला र संस्कृतिको संरक्षण गरेकाले भानुभक्त आचार्यलाई २०२४ सालमा सरकारले राष्ट्रिय विभूतिको उपाधि दिएको थियो । भानु जयन्ती नेपालसहित नेपाली भाषाभाषीको बाहुल्य रहेका विदेशी भूमिमा पनि उत्साहका साथ मनाउने गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यका आध्यात्मिक एवम् धार्मिक प्रवृत्तिका कवि मानिन्छ । सरल नेपाली भाषामा बहुप्रचलित र अत्यन्त लोकप्रिय धार्मिक ग्रन्थ रामायणलाई अनुवाद गरेर भानुभक्तले नेपाली जनतालाई उपहार दिएका छन् । आज पनि ग्रामीण नेपाली समाजमा भानुभक्त अनुवादित रामायणका श्लोकहरु कण्ठस्थ वाचन गर्ने गरिन्छ । उनले रामायण महाकाव्यमार्फत् नेपाली जनमानसमा रामभक्तिको भावना फैलाएका थिए । भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानका कारण उनलाई नेपाली समाजले सामाजिक अगुवाका रुपमा समेत लिने गरेको छ । भानुभक्तले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा भानुभक्तलाई चिनाएका हुन् ।
नेपाली समाजमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेका आदिकवि भानुभक्त आचार्य मूर्धन्य व्यक्तित्व हुन् । विखण्डित नेपाललाई एकीकरण गरेर विशाल नेपाल बनाउन पृथ्वीनारायण शाहको जस्तो देन छ, नेपाली साहित्यको जग हालेर भाषिक एकीकरण गर्न भानुभक्तको उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । राष्ट्र र राष्ट्रियताप्रति गहिरो भाव र ममता भएका कारण उनलाई राष्ट्रवादी लेखकको रुपमा समेत चिन्ने गरिएको छ । भानुभक्तले नेपाली भाषामा अरु धेरै कृतिहरु लेखेकोे भएता पनि रामायणले जति लोकप्रियता अरु कुनै ग्रन्थले प्राप्त गर्न सकेन । अशिक्षा, अज्ञानता र अन्धविश्वासले जकडिएको तत्कालीन नेपाली समाजलाई भानुभक्तले जनजिब्रोमा बोल्ने गरिएको सरल नेपाली भाषामा रामायण अनुवाद गरेर महत्वपूर्ण कोशेली दिएका थिए ।
भाषिक एकताका प्रतीक बनेका भानुभक्त नेपाली साहित्यका आदिकवि र एक महान् अमर विभूति हुन् । त्यसैले उनको जन्मदिनलाई नेपाली भाषा तथा साहित्यप्रेमीहरुले विशेष चाडको रुपमा मनाउने गर्दछन् । भानु जयन्तीको अवसरमा उनका रचना, सिर्जना र साहित्यको स्मरण गरी उनीप्रतिको श्रद्धा प्रकट गर्ने गरिएको छ । भानु जयन्ती नेपालमा मात्र नभई नेपालीभाषी बसोबास गर्ने दार्जिलिङ, सिक्किम, आसाम र बर्मामा समेत श्रद्धाभक्तिपूर्वक मनाइन्छ । पछिल्लो समय रोजगारी तथा अध्ययनका लागि विभिन्न देशमा पुगेका नेपाली समुदायले पनि आ–आफ्नो ठाउँमा भानु जयन्ती मनाउन थालेका छन् । तर, नेपालमा भने भानुभक्तजस्ता राष्ट्रिय विभूति र स्रष्टाको उचित सम्मान हुन सकेको छैन । भानुभक्तलगायत स्रष्टाको जन्मदिनमा साहित्यिक संघसंस्थाले सामान्य औपचारिक कार्यक्रम गरेर स्मरण गरे पनि सरकारी स्तरबाट उपेक्षा भइरहेको छ । भानु जयन्तीलाई सरकारी स्तरबाट मनाउने प्रचलनको सुरुवात भएमा आदिकविप्रति साँचो श्रद्धा हुने थियो ।