विद्यार्थीलाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको २०७९ सालको एसईई परीक्षामा ए प्लस ग्रेड ल्याउने विद्यार्थीलाई मंगलबार सिद्धार्थ माविले नगदसहित सम्मान गरेको छ । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय र २ नम्बर वडा कार्यालयले संयुक्तरुपमा ९ जना विद्यार्थीलाई १५/१५ हजार रुपैयाँसहित सम्मान गरेको हो । सम्मानसँगै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई परामर्श समेत दिइएको छ ।

हेटौँडा–२ वडा कार्यालयबाट १०/१० हजार रुपैयाँ र विद्यालयबाट ५/५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक सागर खतिवडाले जानकारी दिनुभयो । हेटौँडा-२ मा सिद्धार्थ माध्यमिक विद्यालय एउटा मात्रै सरकारी विद्यालय हो । यस्तै ए ग्रेड प्राप्त गर्ने २२ जना विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको छ । बी प्लस ग्रेड प्राप्त गर्ने ३२ जना, बी ग्रेड प्राप्त गर्ने ४८ जना, सी ग्रेड प्राप्त गर्ने ४६ जना र सी प्लस ग्रेड प्राप्त गर्ने २८ विद्यार्थीलाई टिका लगाएर खादाले सम्मान गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडाध्यक्ष विष्णुगोपाल महर्जनको विशेष आतिथ्य रहेको थियो । सिद्धार्थ माविबाट नियमिततर्फ एक सय ८६ जना र खुलातर्फबाट ५१ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।