हेटौँडाः हेटौँडा उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरु प्रथम त्रैमासिक परीक्षाको तयारीमा रहेका छन् । प्रथम त्रैमासिक परीक्षा सञ्चालनका लागि पाठ्यपुस्तकका आवश्यक कोर्ष सकेपछि विद्यालयहरु परीक्षाको तयारीमा लागेका हुन् ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको क्यालेण्डरअनुसार आउँदो साउन ९ गतेदेखि सुरु हुने प्रथम त्रैमासिक परीक्षाको तयारीमा विद्यालय लागेका हुन् । हेटौँडा–६, गौरीटारमा रहेको बालजागृति युवावर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक सम्झना अधिकारी भन्नुहुन्छ, “अहिले प्रथम त्रैमासिक परीक्षाको तयारीमा विद्यालय लागेको छ । गत असार १७ गतेदेखि २४ गते आइतबारसम्म विद्यालयले प्रथम त्रैमासिक परीक्षाको पूर्वतयारीको परीक्षा सञ्चालन गरेको छ । उक्त परीक्षाको नतिजालाई मूल्यांकन गरी अब कसरी अघि बढ्ने भन्ने विषयमा विद्यालय अघि बढ्नेछ ।” नतिजाको उपलब्धीलाई मूल्यांकन गरी सुधार गर्नुपर्ने कुरालाई आत्मसाथ गर्दै परीक्षाको तयारीमा लाग्ने उहाँले बताउनुभयो ।
आइतबार माध्यमिक तहका शिक्षकहरुसँग परीक्षाको तयारीबारे छलफल गरेको प्रधानाध्यापक अधिकारीको भनाइ छ । सोमबार पनि संयुक्तरुपमा शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको बैठक बसेर छलफल गरिएको उहाँले बताउनुभयो । बैठकमा विद्यालयको शैक्षिक गतिविधि र हालै प्रकाशित एसईई नतिजाको समीक्षासमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
आन्तरिक मूल्यांकनका लागि परियोजना कार्यमा विद्यार्थीको सहभागितालाई विश्लेषण गरेर कागजात तयार गरिने उहाँले जानकारी दिनुभयो । विद्यार्थीलाई गत बिहीबारदेखि परीक्षा तालिकासमेत उपलब्ध गराइसकेको उहाँको भनाइ छ । परीक्षाको तयारीका लागि घरमा कति बजेदेखि कति बजेसम्म कुन विषय पढ्ने भनेर विद्यार्थीलाई समयतालिका दिइने प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
असार महिनाको अन्तिमतिर अभिभावक, विद्यार्थी, प्रधानाध्यापक र विषयगत शिक्षकहरुबीच समग्र शैक्षिक गतिविधिबारे छलफल गरिने उहाँले जानकारी दिनुभयो । प्रथम त्रैमासिक परीक्षाको पूर्वतयारीको नतिजा प्रत्येक अभिभावकलाई उपलब्ध गराइने उहाँको भनाइ छ । परीक्षाको तयारी कति पुगेन भनेर समीक्षा गरिने र सोहीबमोजिम घरमा पढ्ने वातावरण निर्माणका लागि अभिभावकलाई आग्रह गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत् छन् ।
हेटौँडा–१५, रातोमाटेमा रहेको जनजागृति माध्यमिक विद्यालय पनि प्रथम त्रैमासिक परीक्षाको तयारीमा लागेको छ । विद्यालयका प्रधानाध्यापक केशव सञ्जेल भन्नुहुन्छ, “शिक्षकहरु सबैले प्रथम त्रैमासिक परीक्षा सञ्चालनका लागि सक्नुपर्ने आवश्यक कोर्षहरु पढाएर सकाएका छन् ।” अहिले दोहोर्याएर कोर्षहरु विद्यार्थीलाई पढाइरहेको उहाँले बताउनुभयो । कक्षागत अभिभावक भेटघाट कार्यक्रम पनि भइरहेको उहाँको भनाइ छ ।
परीक्षा नजिकिएसँगै प्रायः विद्यार्थी नियमित विद्यालय आउन थालेको उहाँले जानकारी दिनुभयो । तामाङ समुदायका विद्यार्थी बढी भएकाले १० प्रतिशत बालबालिका अझै नियमित विद्यालय आउने नगरेको उहाँले बताउनुभयो । विगतको तुलनामा यस वर्षको एसईई परीक्षाको नतिजामा पनि सुधार आएको प्रधानाध्यापक सञ्जेलको भनाइ छ । एसईईमा ४७ विद्यार्थी सहभागी भएकोमा ४५ जना विद्यार्थी माथिल्लो कक्षा अध्ययनका लागि योग्य भएको उहाँले जानकारी दिनुभयो । विद्यालयमा ३ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् ।
हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहालले प्रथम त्रैमासिक परीक्षाअघि पठाउनुपर्ने कोेर्षहरु सकाउन शिक्षकहरु लागीरहेको बताउनुभयो । प्रायः विषयगत शिक्षकहरुका कोर्ष सकिए पनि केहीको बाँकी रहेको उहाँको भनाई छ । बाँकी कोर्षहरु केही दिनमा सकिने भएकाले त्यसपछि प्रथम त्रैमासिक परीक्षाको तयारीका लागि दोहोर्याएर कोर्षहरु पढाउने उहाँले जानकारी दिनुभयो ।
परीक्षाको नजिक भएकाले प्रायः सबै विद्यार्थी नियमित उपस्थित हुन थालेको प्रधानाध्यापक दाहालले बताउनुभयो । तराईका विद्यार्थी बढी भएकाले २ प्रतिशत विद्यार्थी नियमित नभएको उहाँको भनाइ छ । तर, परीक्षा आयो भन्ने माहोल विद्यालयमा बनिसकेको उहाँले बताउनुभयो । विद्यालयमा एक हजार ९ सय ४० जना विद्यार्थी अध्ययनरत् छन् ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष खतिवडाले आउँदो साउन ९ गतेदेखि १७ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिने बताउनुभयो । समिति परीक्षाको तयारीका लागि अघि बढिसकेको छ । प्रश्नपत्र निर्माण गरिसकेको छ । प्रश्नपत्रको परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रथम त्रैमासिक परीक्षा प्रायः विद्यालयले आफ्नो अनुकूलताअनुसार सञ्चालन गरिरहेका हुन्छन् । जसले गर्दा कति विद्यालयका कति विद्यार्थी सहभागी हुन्छन् भन्ने कुरा यकिन भइनसकेको उहाँले बताउनुभयो । कति विद्यालयका कति विद्यार्थी सहभागी हुन्छन् भन्ने कुरा यस महिनाको अन्तिममा यकिन हुने उहाँको भनाइ छ ।
विद्यालय र विद्यार्थीको संख्या यकिन भएपछि प्रश्नपत्र छपाईमा समिति लाग्ने र ७ गतेदेखि विद्यालयहरुमा प्रश्नपत्र पुर्याउने उहाँले जानकारी दिनुभयो । गत वर्षहरुमा नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रश्नपत्रसँगै उत्तरपुस्तिका उपलब्ध गराएको थियो । तर यसवर्ष भने प्रश्नपत्रमात्र विद्यालयलाई वितरण गरिने र विद्यालय आफैंले उत्तरपुस्तिकाको व्यवस्थापन गर्न अनुरोध गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
गत वर्षको प्रथम त्रैमासिक परीक्षामा ३२ वटा विद्यालयमात्र समितिमा सहभागी भएका थिए । अर्धवार्षिक र वार्षिक परीक्षामा भने प्रायः सबै विद्यालयले समितिको निर्णयअनुसार परीक्षा सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । हेटौँडा उपमहानगरमा ७३ वटा सामुदायिक विद्यालय रहेका छन् ।