हेटौँडाः मकवानपुरको थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले चालु आर्थिक वर्षको वित्तीय प्रगति सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको सम्पूर्ण खर्च तथा भुक्तानीसम्बन्धी लेखांकन कार्य पनि आइतबारदेखि बन्द गरिएको छ । चालु आर्थिक वर्षमा चालुतर्फ ५२ करोड १७ लाख ९१ हजार १ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ४७ करोड १० लाख ९४ हजार २ सय ७२ रुपैयाँ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ ६७ करोड ८ लाख २० हजार ७ सय ६२ रुपैयाँ बजेट विनियोजना भएकोमा ४७ करोड ५६ लाख ४४ हजार ५ सय ८४ रुपैयाँ खर्च भएको छ । थाहाले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ८०.५९ प्रतिशत खर्च गरेको छ ।
थाहाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि चालु आर्थिक वर्षमा भन्दा घटाएर बजेट आएको छ । थाहाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ८८ लाख ४१ हजार ८ स ७ रुपैयाँ विनियोजन गरेको छ । जसमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ४० लाख, समपूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड, सशर्त अनुदान ३१ करोड १४ लाख रुपैयाँ रहेको छ ।