हेटौंडाः मकवानपुरका ६ जना खेलाडीले एसिया यू–२० रग्बी च्याम्पियनसिप खेल्ने भएका छन् । यू–२० रग्बीको महिला र पुरुष राष्ट्रिय टिममा मकवानपुरका ३–३ जना खेलाडी छनोट भएका हुन् ।

नेपाल रग्बी संघले रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि छनोट गरेको टिममा मकवानपुरका ६ जना खेलाडी पर्न सफल भएको मकवानपुर रग्बी संघका अध्यक्ष लीलाकुमार घलानले जानकारी दिनुभयो । संघले असार १७ गतेबाट २१ गतेसम्म पोखरामा गरेको खेलाडी छनोटमा मकवानपुरका ६ जना खेलाडी पर्न सफल भएको उहाँले बताउनुभयो ।

महिलातर्फ २० र पुरुष २० जना खेलाडीको अन्तिम छनोटमा महिला र पुरुष दुबै टिमका लागि समान ३–३ जना मकवानपुरका खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा महिलातर्फ सुष्मा पाख्रिन, ज्योति बोम्जन र मनिसा घिसिङ रहेका छन् । पुरुषतर्फ अभिषेक थापा, अबि राई र विशेक बछार छनौट भएका छन् ।

एसिया रग्बी यू–२० च्याम्पियनसिप काठमाडौंमा हुने भए पनि अझै प्रतियोगिताबारे ठोस निर्णय नभएको अध्यक्ष घलानले बताउनुभयो । उहाँका अनुसार एसिया रग्बी कप आगामी भदौमा आयोजना हुने सम्भावना छ । प्रतियोगिता नभएसम्म खेलाडीहरु पोखरामा बन्द प्रशिक्षणमा रहनेछन् । प्रतियोगिता १५ ‘ए’ साइड भएमा २० जना टिममा रहने र ७ ‘ए’ साइड भएमा १२ खेलाडीमात्र टिममा रहने अध्यक्ष घलानले बताउनुभयो ।