हेटौँडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह बाणिज्य संकायमा नेपाल प्रथम हुन सफल मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी प्रकाश गौतम सम्मानित भएका छन् । पब्लिक क्याम्पस संघको स्थापना दिवस तथा बागमती प्रदेश अधिवेशनको अवसरमा सोमबार काठमाडौंमा गौतमलाई नगद १५ हजारसहित गणेशमान पालिखे सम्मान प्रदान गरिएको हो ।
संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतले गौतमलाई सम्मानपत्र प्रदान गर्नुभयो । चार वर्षे स्नातक तहको समग्र नतीजा ७६.७५ प्रतिशत हासिल गर्दै गौतम सामुदायिक क्याम्पसतर्फ स्नातक तहमा नेपाल प्रथम भएका हुन् । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष अनन्तप्रसाद पौडेल, क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष केशव तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।
सामुदायिक क्याम्पसहरुको साझा संस्थाको अधिवेशनमा क्याम्पस सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक संघको अध्यक्ष प्रतिनिधि हुने व्यवस्था छ । यसैबीच अधिवेशनबाट मकवानपुरको हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसका अध्यक्ष राजकुमार भेटवाल र हेटौँडा–१३, पदमपोखरीस्थित पदमपोखरी बहुमुखी क्याम्पसका प्रमुख निबन्ध लामा प्रदेश समितिको सदस्य निर्वाचित हुनुभएको छ ।