निर्वाचित ४ जना हाउस क्याप्टेनहरु ।

हेटौँडाः हेटौँडा–४, कमलडाँडास्थित बह्मदिक् एकेडेमीमा सोमबार ४ जना हाउस क्याप्टेन निर्वाचित भएका छन् । २० जना उम्मेदवार मध्ये ४ जना निर्वाचित भएका हुन् । विद्यार्थीलाई निर्वाचनको प्रक्रियाका बारेमा बुझाउन र विद्यालयका विद्यार्थी प्रतिनिधि चयनका लागि अभ्यास गरिएको निर्वाचनबाट १०६ मतसहित ९ कक्षाका अजित कुमार यादव, ८१ मतसहित १० कक्षाकी साइमन कार्की, ३६ मतसहित ९ कक्षाकी खुसी लामिछाने र ३२ मतसहित १० कक्षाकी साविया कार्की निर्वाचित भएको विद्यालयका प्रिन्सीपल रामबाबु सापकोटाले जानकारी दिनुभयो ।

निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्म अध्ययनरत ५ सय ७० विद्यार्थीलाई मतदानको अधिकार थियो । कुल ४ सय ३८ मत खसेकोमा ९ मत मात्रै बदर भएको थियो । गत बर्षदेखि विद्यालयले निर्वाचनको अभ्यास गर्न सुरु गरेको हो । निर्वाचनमा ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी उम्मेदवार हुने व्यवस्था गरिएको थियो । प्रिन्सीपल रामबाबु सापकोटाले जानकारी दिनुभयो । असार १९ गते उम्मेदवारी दर्ता गरी निर्वाचनको प्रक्रिया सुरु गरिएको थियो ।

एउटा सेक्सनबाट एक छात्र र एक छात्रालाई उम्मेदवार हुने अवसर दिइएको थियो । निर्वाचित ४ जना विद्यार्थीलाई ४ वटा हाउस क्याप्टेनको जिम्मेवारी दिइने बताइएको छ । मकवानपुर जिल्लामा प्रदेश सभाको ४ वटा क्षेत्रलाई संकेत गर्ने गरी ४ वटा हाउसको क्याप्टेनको निर्वाचन गरिएको हो । विद्यार्थीबीच निर्वाचनका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको छ ।