हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै ।

हेटौँडाः मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले व्यवसायीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने भन्दै सडक डिभिजन कार्यालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आइतबार मउवा संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेशकुमार यादव र हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई ज्ञापनपत्र बुझाइएको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाले असार १० गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत् राप्तीपुल–बुद्धचोक हुँदै रातोमाटेसम्म सडक विस्तार गर्न ३५ दिने सूचना निकालेको थियो । सर्वोच्च अदालतको २०७८ साल पुस १९ गतेको आदेशले यस सडकखण्डकोे सडक सीमा सडकको बीचबाट २५–२५ गज कायम भएको र यस क्षेत्रको घरटहरा हटाउन आदेश दिइएको थियो ।

ज्ञापनपत्र बुझाउनुहुँदै मउवा संघका अध्यक्ष गुप्ताले सडक विस्तार गर्ने कुराले व्यवसायीहरु सुकुम्बासी हुने अवस्था आउने बताउनुभयो । अहिले यस सडकखण्ड क्षेत्रका व्यवसायीहरुले कर तिरिरहेको अवस्थामा उद्योगी र व्यवसायीसँग छलफल नगरी सडक विस्तार गर्ने सूचना निकालिएको उहाँले बताउनुभयो । ज्ञापनपत्र बुझ्नुहुँदै सडक डिभिजन कार्यालयका प्रमुख यादवले जनतालाई सकेसम्म सुकुम्बासी बन्न नपर्ने गरी काम गर्ने आश्वासन दिएको र यसको उचित व्यवस्थापन गर्ने गुप्ताले बताउनुभयो ।

र्यालीमा सहभागीहरुले सर्वोच्च अदालतको आदेशबमोजिम क्षतिपूर्तिको ग्यारेण्टी गर, जनता सुकुम्बासी नहुने विकल्पको खोजी गर, व्यक्तिगत सम्पत्तिमाथिको मौलिक हक सुनिश्चित गर, व्यवसायीको व्यवस्थापन गरलगायत नारा लगाएका थिए ।