हेटौँडाः नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको मिडिया कप फुटसल प्रतियोगिताको उपाधी एन्ड्रस फुटसल टिमले जितेको छ । शनिबार भएको फाइनल खेलमा रेडियो मकवानपुरको टिमलाई २–१ गोलले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो ।
एन्ड्रसलाई उपाधी दिलाउन रविन्द्र वाईबा र सरोज पौडेलले एक–एक गोल गरे । चार टिम सहभागी प्रतियोगितामा एन्ड्रसले पत्रकार भेट्रान्स टिमलाई ६–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो भने आयोजक पत्रकार मञ्चलाई हराउँदै रेडियो मकवानपुर फाइनलमा प्रवेश गरेको थियो । खेल नकआउट प्रणालीमा खेलाइएको थियो । खेलकुद पत्रकार मञ्च मकवानपुरले यसअघि मकवानपुरका पत्रकारहरुका लागि खेलकुद पत्रकारिता तालिमको आयोजना गरेको थियो ।
खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुर शाखाका निवर्तमान अध्यक्ष हरी हुमागाईको पनि आतिथ्य रहेको थियो ।