मकवानपुर प्रहरीले दुई दिनअघि करिब २ क्वीन्टल गाँजासहित १२ जना मानिसलाई पक्राउ गर्यो । रातिको समयमा हेटौँडा–१५ स्थित रातोमाटेको प्रहरी चेकपोष्टमा सवारी साधनलाई सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध गाँजा फेला पारेको हो । प्रहरीले भारतीय ट्रकबाट एक सय ४४ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको थियो । बीरगञ्जतर्फ जाँदै गरेको ट्रकलाई शंका लागी सुरक्षाजाँच गर्दा प्रहरीले ट्रकबाट १४ वटा पोकामा एक सय ४४ केजी लागूऔषध गाँजा फेला पारेको थियो । गाँजासँगै भारत निवासी ट्रक चालक र बारा तथा पर्साका विभिन्न ठाउँका ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले वीरगञ्जतर्फ जाँदै गरेको कार तथा मोटरसाइकललाई शंका लागेर सुरक्षाजाँच गर्ने क्रममा ४७ केजी लागूऔषध गाँजासहित अर्को ६ जनालाई पनि पक्राउ गरेको छ । गाँजासँगै कार तथा मोटरसाइकल चालकसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका र पटरेवा सुगौली गाउँपालिका निबासी हुन् । मकवानपुर प्रहरीले बुधबार पनि नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको भारतीय ट्रकबाट डेढ क्वीन्टल गाँजा बरामद गरेको छ ।
पछिल्लो समय मकवानपुर जिल्लाका विभिन्न क्षेत्रबाट लागूऔषध पक्राउ नपरेको दिन नै हुँदैन । प्रहरीले विशेष सुराकी तथा आशंकाको आधारमा सवारी साधन तथा मानिसको झोला सुरक्षाजाँच गरेर गाँजासहित अन्य लागूऔषध दिनहुँजस्तै बरामद गरिराखेको पाइन्छ । हेटौँडाको रातोमाटे, बसपार्क र नेवारपानी क्षेत्रबाट बढी लागूऔषधसहित मानिस पक्राउ पर्ने गर्दछन् । यस्तै, मनहरी, भैंसे तथा पालुङ क्षेत्रबाट पनि लागूऔषध गाँजासहित सवारी साधन र ओसारपसारमा संलग्न मानिस पक्राउ पर्ने गरेका छन् । कुनैबेला लागूऔषध गाँजा खेतीका लागि अग्रणी मकवानपुर जिल्ला अहिले लागूऔषध ओसारपसारको ट्रान्जिटजस्तै बनिरहेको छ । प्रहरीले दिनहुँजस्तो लागूऔषध बरामद गरेको समाचार सार्वजनिक भइरहेकाले यसलाई पुष्टि गरेको छ । मकवानपुरबाट भारतीय भूमिमा लैजान लागेका लागूऔषध गाँजा मकवानपुरका विभिन्न स्थानबाट बरामद हुने गरेको छ । बरामद हुने लागूऔषध गाँजासँगै धेरैजसो यसको ओसारपसारमा संलग्न मानिस तथा सवारी साधन पनि पक्राउ पर्ने गरेको पाइन्छ । यसैगरी भारतबाट नेपाल भित्रिने लागूऔषध हेटौँडा भएर देशका विभिन्न भागमा पुग्ने भएकाले प्रहरीले धेरैलाई पक्राउ गर्ने गरेको हुनसक्छ ।
लागूऔषधको विकराल समस्या विश्वव्यापी भेटिन्छ । यसको खेती तथा प्रशोधन गरेर उत्पादन गर्ने, उत्पादित लागूऔषध ओसारपसारमा संलग्न हुने, लागूऔषधको बिक्री वितरण गर्ने र लागूऔषध सेवन गर्ने सबै कार्यलाई नेपालमा अपराध मानिन्छ । लागूऔषधको उत्पादन, वितरण, बेचविखन तथा सेवन कार्य नेपालमा प्रतिबन्धित छ । तर, पनि लागूऔषध दुरुपयोग र सेवनको समस्या मकवानपुरमा व्यापक छ । विश्वका ५ प्रतिशत युवा लागूऔषधको गलत प्रयोगका कारण समस्यामा पर्ने गरेको तथ्यांक छ । लागूऔषधका कारण ऊर्जाशील युवा जनशक्ति कुलतमा फस्दा समाज तथा देशको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक सबै पक्षमा नकारात्मक असर परिरहेको छ । कलिला उमेरका किशोरकिशोरीसमेत लागूऔषध दुव्र्यसनी भएपछि उनीहरुको जीवन नारकीय बन्छ नै ।
लागूऔषधको समस्याले हाम्रो सामाजिक परिवेश, शान्ति र अमनचयन भङ्ग हुने खतरा बढ्दै गएको छ । लागूऔषधको समस्या समाधान गर्न लागूऔषध उत्पादन, ओसारपसार, बिक्री तथा सेवन रोक्नु आवश्यक छ । लागूऔषधको समस्या किन र के कारणले बढ्दै गएको छ भन्ने बारेमा तथ्यगत अनुसन्धान गरी त्यसको रोकथामका लागि राज्यका संयन्त्रहरु क्रियाशील बन्नुपर्छ । लागूऔषधसम्बन्धी समस्या समाधान गर्ने दायित्व सरकार र प्रहरीको मात्र हो भन्ने सोच्नु हुँदैन । लागूऔषधसम्बन्धी समस्याका बारेमा हरेक नागरिक सचेत भएर यसको विरुद्ध आवाज उठाउनुपर्छ । सामाजिक समस्याको रुपमा मानिएको लागूऔषध दुरुपयोगको अन्त्यका लागि सम्बद्ध सबै पक्ष थप क्रियाशील बन्नुपर्छ ।