ज्येष्ठ नागरिकहरुको तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको १६ नम्बर वडाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । विहिबार एक कार्यक्रमकाबीच वडाका ५ वटा टोल विकास संस्थाका ७५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक मञ्च हेटौँडा–१६ का अध्यक्ष देवनारायण ढकालको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । ज्येष्ठ नागरिकलाई खादा, ब्ल्याङ्केट, लठ्ठी र नगद पाँच सयले सम्मान गरिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुहुँदै प्रदेश सभा सदस्य बानियाँले बृद्धबृद्धाको उचित स्याहारसुसार र हेरविचार गर्नु राज्यको दायित्व हुन आउने बताउनुभयो । परिवारका सदस्यका साथसाथै टोल, समाज र राज्यका निकाय स्थानीय सरकारलेसमेत यसतर्फ ध्यान दिई आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकहरुको उचित हेरविचार गर्नुपर्नेमा बानियाँले जोड दिनुभयो ।

हेटौंडा–१६ ले बाँकी १० टोल विकास संस्थाका ज्येष्ठ नागरिकलाई साउनको पहिलो साता सम्मान गरिने वडा अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पनि उपस्थिती रहेको थियो ।