हेटौंडाः हेटौंडा उपमहानगरपालिकाभित्र रहेका १९ वटा संस्थागत विद्यालयले मात्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको विवरण बुझाएका छन् । गत असार ८ गते हेटौंडा उपमहानगरपालिकाले सूचना जारी गर्दै असार २० गतेभित्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियोे ।
उपमहानगरले दिएको समयसीमाभित्र आधाभन्दा बढी संस्थागत विद्यालयले विवरण बुझाएका छैनन् । हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाकी शिक्षा अधिकृत सुनिता महर्जनले २९ वटा संस्थागत विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको विवरण नबुझाएको जानकारी दिनुभयो ।संस्थागत विद्यालयहरुले विद्यार्थीलाई नियमानुसार छात्रवृत्ति प्रदान नगरेको गुनासोपछि संस्थागत विद्यालयलाई उपमहानगरले ताकेता गरेको थियो । कानुनले निर्देशन गरेअनुसारको छात्रवृत्ति वितरण गर्न र त्यसको विवरण तत्काल पेस गर्न निर्देशन दिइएको थियो ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार संस्थागत विद्यालयहरुले अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको तथ्यांक पेश आग्रह गरिएको हो । ऐनअनुसार ५ सय जनासम्म विद्यार्थी भएका संस्थागत विद्यालयहरुले १० प्रतिशत पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था रहेको छ । यस्तै, ५ सयभन्दा माथि ८ सय जनासम्म विद्यार्थी अध्ययनरत विद्यालयले १२ प्रतिशत र ८ सय जनाभन्दा माथि विद्यार्थी अध्यनरत भएका विद्यालयले १५ प्रतिशतका दरले विद्यार्थीलाई पूर्णरुपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।
उपमहानगरभित्र ४८ वटा संस्थागत विद्यालयहरु रहेका छन् । ती विद्यालयहरुले हालसम्म कानुनबमोजिम छात्रवृत्ति वितरण गरेको विवरण बुझाउने गरेका थिएनन् । हेटौंडा उपमहानगरभित्रका संस्थागत विद्यालयमा करिब १८ हजार विद्यार्थी अध्ययनरत छन् । छात्रवृत्ति वितरण गरेको विवरण बुझाएपछि नियमितरुपमा अनुगमन र विद्यार्थीले पाउने छात्रवृत्ति वितरणमा कडाई गरिने हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।