जनप्र्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जनप्र्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम भएको छ । बिहीबार नेपाल पत्रकार महासंघ मकवनपुरको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवनपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवनपुरका उपाध्यक्ष ध्रुव अधिकारीले मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा महासंघलाई ३ लाख रुपैयाँ बजेट प्रदान गरेको बताउँदै उक्त रकमबाट महासंघमा आवश्यक सामग्री खरिद गरिने जानकारी दिनुभयो ।

गाउँपालिका र सञ्चारकर्मीबीच सहजताका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा मनहरी–९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले केही सञ्चारकर्मीहरु शुभकामनाको बिलमात्र लिएर आउने गरेको र पालिकामा भएका कामको बारेमा कुनै चासो नराख्ने गरेको गुनासो गर्नुभएको थियो । वडामा आफू निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार विकासमात्र नभई शिक्षा, स्वास्थ्यको क्षेत्रमा उच्च बजेट विनियोजन गरेको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले पालिकाले शिक्षा क्षेत्रको ८० प्रतिशत बजेट निकासा गरिसकेको बताउँदै चालु आर्थिक वर्षमा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकको रुपमा छनौट भई शिक्षा विकास तथा समन्वय इकाईबाट सिफारिस भएका २३ जना शिक्षकलाई पदस्थापन गराइएको जानकारी गराउनुभयो । कार्यपालिका बैठकमा २५ वटा कार्यविधि पेश भएको र ६ वटा कार्यविधि संशोधन भएको उहाँले जानकारी दिनुभयो ।

पालिकाले स्वस्थ्य क्षेत्रमा विकास गर्र्दै २ हजार परिवारलाई पालिकाको आर्थिक सहयोगमा स्वस्थ्य बीमा गराएको उहाँले बताउनुभयो । अन्तरक्रियाको क्रममा संञ्चारकर्मीहरुले पालिकाले नीतिगत भ्रष्टाचार गरेको बताउँदै सूचना माग्दा नदिएको आरोप लगाएका थिए । पालिकाले आफ्नालाई मात्र विज्ञापन दिएको भन्दै विज्ञापनमा एकद्वार कायम गर्नुपर्ने बताएका थिए । मनहरी गाउँपालिकामा बेरुजु रकम कति घट्यो ? भनि प्रश्न गरेका थिए । पालिकाले इन्धनको लेखाजोखा नराख्ने गरेकाले भ्रष्टाचार भएको भन्दै सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।

गाउँपालिका अध्यक्ष कालाखेतीले काम गर्दै जाँदा आरोप–पत्यारोप लाग्ने गरेको र आरोपले गर्दा काममा सजगता अपनाइने बताउँदै जनप्रतिधिले गरेको काम जनताले थाहा पाउनुपर्ने बताउनुभयो । आफूले पालिकामा १५ दिनमा कर्मचारीहरुसँग भेला गर्ने गरेको बताउँदै पालिकाबाट कुनै नराम्रा गतिविधि नभएको बताउनुभयो । नराम्रो काम गर्ने कर्मचारीलाई पालिकामा राख्न नसक्ने धारणा उहाँले राख्नुभयो । पालिकाको सेवा सुविधा आफूले नलिई अध्यक्षकोष खडा गरी गरिबका लागि खर्च गरेको बताउनुभयो ।