हेटौँडाः सिन्धुलीमा भएको सवारी दुर्घटनामा एकैदिन २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिला सबैला नगरपालिका–४ का ४४ वर्षीय राजकुमार साह रहेको प्रहरी जानकारी दिएको छ ।
बुधबार बिहान १० बजेको समयमा काठमाडौंबाट सिन्धुली जाँदै गरेको म.प्र. ०२–००६ प ०५३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक साह गम्भीर घाइते भएका थिए । घाइते साहलाई उपचारका लागि आत्मीय अस्पताल खाल्टे लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको पछाडी सवार ३६ वर्षीया अन्जु साह सामान्य घाईते भएकी छिन् । घाइते अन्जुको आत्मीय अस्पताल खाल्टमा उपचार भइरहेको छ ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–५ कुलुवामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ३० वर्षीय अनिल गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान १० बजेर २० मिनेटको समयमा डकाहाबाट दुधौली जाँदै गरेको स १० प २७१४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्र १ ०५–००१ प ४८६५ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा गुरुङ गम्भीर घाइते भई उपचारका लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै प्र १–०५–००१ प ४८६५ को चालक पनि गम्भीर घाइते भएका छन् । चालक उदयपुर जिल्ला कटारी नगरपालिका–४ बस्ने २५ वर्षीय रवानी शेख रहेको प्रहरीले जानकारी दिएको छ । शेखको उपचार भइरहेको प्रहरीले जनाएको छ ।