हेटौँडाः हेटौँडा–९ स्थित चुरियामाई बेकरीको उत्पादनमा फोहर भेटिएको भनी उपभोक्ताले गुनासो गरेपछि उपभोक्ता मञ्च मकवानपुरले बेकरी उद्योगको अनुगमन गरेको छ । बुधबार बिहान हेटौँडा–२ स्थित एक उपभोक्ताले पाउरोटीमा फोहर भेटिएको गुनासोपछि स्थानीय प्रशासनलाई जानकारी गराएर उद्योगको अनुसार गरिएको उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले जानकारी दिनुभएको छ ।
अध्यक्ष अधिकारीको नेतृत्वमा मञ्चका पदाधिकारीको सहभागिता रहेको थियो । अनुगमनका क्रममा उद्योग सञ्चालकले कमजोरी भएको स्वीकार्दै उत्पादनमा काम गर्ने कर्मचारीलाई जिम्मेवार हुन निर्देशित गरेको जानकारी दिनुभएको छ । असार २ गते सम्पन्न साधारणसभाबाट अधिकारीको नेतृत्वमा मञ्चको नयाँ समिति गठन भएको थियो ।
उपभोक्ताको पक्षमा उल्लेख्य काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष अधिकारीले उपभोक्ताको गुनासाका आधारमा उपभोक्ताहितको पक्षमा काम गर्ने बताउनुभएको छ । मञ्चले घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा बेकरी उद्योगको अनुगमन गर्ने तयारी समेत गरेको छ । मञ्चले उद्योग वाणिज्य संघसँग छलफल गरेर आवश्यक पहल गर्ने अध्यक्ष अधिकारीले बताउनुभएको छ ।