नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि तस्बीर लिनुहुँदै पालिकाकी उपाध्यक्ष उमाकुमारी लामा ।

हेटौंडाः इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ४४ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्नुभएको हो ।

पालिकाले आइतबार गाउँसभाको १२ औ अधिवेशनबाट बजेट पारित गरेको छ । पालिकालाई संघीय सशर्त अनुदान चालुतर्फ १३ करोड ४० लाख, संघीय विशेष अनुदान १ करोड, तोकिएका पूर्वाधार निर्माणका लागि संघीय समपूरक अनुदान १ करोड ७० लाख, संघीय समपूरक अनुदान प्रशासकीय भवनतर्फ २ करोड ५० लाख प्राप्त भएको थियो ।

पालिकाले वीर फाखेल मैत्रीपार्क निर्माण निरन्तरताका लागि ३० लाख, वडा नम्बर ४ वडा कार्यालय र वडा नम्बर ५ को स्वास्थ्य चौकीको बाँकी रहेको भुक्तानी दिन ६० लाख विनियोजन गरेको छ । पालिकालाई प्रदेश विशेष अनुदानतर्फ ५० लाख, प्रदेश समपूरकतर्फ २ करोड ५० लाख, प्रदेश सशर्त अनुदानतर्फ १ करोड ९९ लाख ५० हजार र प्रदेश सरकारको समपूरक अनुदानतर्फ ३ करोड प्राप्त भएको छ । पालिकाले बडागत सिलिङमा २ करोड ८५ लाख, चालुतर्फ ८ करोड, विभिन्न शाखाको शाखागत दायित्वसमेत ४ करोड गरी ४४ करोड ३४ लाख ५० हजार खर्च हुने अनुमान गरी बजेट ल्याएको उपाध्यक्ष लामाले बताउनुभयो ।

पालिकाको सञ्चित कोष अनुमानित मौज्दातमा १ करोड २९ लाख ५० हजार रहेको छ । संघीय वित्तीय समानीकरण अनुदानमा ७ करोड २६ लाख, संघीय सशर्त अनुदान १३ करोड ४० लाख, संघीय राजस्व बाँडफाँडमा ६ करोड ४६ लाख १९ हजार ६ सय रुपैयाँ, संघीय राजस्व बाँडफाँड अनुदान (विद्युत रोयल्टी र वन) मा २ करोड २६ लाख ४७ हजार ७ सय ५९, प्रदेश वित्तीय समानीकरण अनुदानमा ६४ लाख ६८ हजार, प्रदेश सशर्त चालुमा १ करोड ९९ लाख ५० हजार, प्रदेश राजस्व बाँडफाँड (सवारी साधन) अनुदानमा १ करोड ९१ लाख ७ हजार २ सय ७८, संघीय विशेष अनुदानमा १ करोड, प्रदेश समपूरक कोषबाट २ करोड ५० लाख, प्रदेश विशेष अनुदानमा ५० लाख र आन्तरिक आयमा ३ करोड ४१ लाख ७ हजार ३ सय ६२ रुपैयाँ आम्दानी हुने जनाएको छ ।