हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट समयमा पेश गर्न असफल भएको छ । असार १० गतेभित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने भए पनि बागमतीले समयमा ल्याउन असफल भएको हो ।
आइतबार भएकोे गाउँसभामा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिहरुले बैठक छाडेपछि नीति तथा कार्यक्रम ल्याउन नसकेको हो । बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले छलफल सकारात्मक नभएपछि आफूहरुले बैठक छाडेर हिँडेको बताउनुभयो । सबै बजेट विकेन्द्रीकरणको नाममा केन्द्रीकरण गर्ने काम भएको उहाँले आरोप लगाउनुभयो । पालिका अध्यक्ष सर्केश घलानले मात्र प्रयोग गर्ने खालको एजेण्डा ल्याएको भन्दै आफूूहरुले बैठक छाडेको उहाँको भनाई छ । माओवादी केन्द्रबाट विजयी पालिका अध्यक्ष घलानले आफूहरुसँग बहुमत छ भनेर जिद्दीपन देखाएकोे उहाँले बताउनुभयो । सबै नीति तथा कार्यक्रमहरु परिमार्जन गर्ने काम भएको उहाँले बताउनुभयो । यसपटक पालिकाले ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याउने उहाँले बताउनुभयो । आर्थिक क्रियाकलाप र उत्पादनमुखी नीति तथा कार्यक्रम आउने उहाँको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले मंगलबार कार्यपालिकाको बैठक आह्वान गरिएको बताउनुभयो । दिउँसो १ बजे बस्ने कार्यपालिका बैठकबाट गाउँसभाको मिति तय हुनसक्ने उहाँले बताउनुभयो ।