हेटौंडाः हेटौंडामा प्रदेशस्तरीय प्रथम ‘नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ हुने भएको छ । बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ वागमती प्रदेश समितिको सहकार्यमा आगामी २०८० साल असार १४ र १५ गते रोयल पार्टी प्यालेस हेटौंडा–४ मा सम्मेलन हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै बागमती प्रदेशका सबै जिल्लाहरुबाट नवप्रवर्तन उद्यमीहरु, इच्छुक लगानीकर्ताहरु र महासंघका प्रदेश समिति तथा जिल्ला समितिका पदाकिारीहरु गरी करिब २५० जना उद्यमीहरु सहभागी हुने घरेलु तथा साना उद्योग महासंघ बागमतीका कार्यबाहक अध्यक्ष तारानाथ चौलागाईंले बताउनुभयो ।
सूचना प्रविधि र आधुनिक प्रविधिमा आधारित उद्यम व्यवसायले मात्र अहिलेका उपभोक्ताहरुको चाहना परिपूर्ति गर्ने अवस्था बनिरहेको उहाँले बताउनुभयो । नेपाल भौगोलिक हिसाबले र प्राकृतिक श्रोत सम्पदाको हिसाबले नवप्रवर्तन उद्यमीहरुको विकासको लागि उर्वर भूमि भएको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनबाट छानिएका नवप्रवर्तन उद्यमीहरुलाई महासंघले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरुमार्फत् प्रवद्र्धन र विकास गर्न सहयोग पुर्याउने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।