हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित भएको छ । आइतबार गाउँ सभाको बाह्रौं अधिवेशनमा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत पारित भएको हो ।
पालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ । पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार १६९ रुपैयाँ प्राप्त भएको थियो । यसैगरी आन्तरिक राजश्व, घरजग्गा रजिष्ट्रेसन दस्तुर, दहत्तर बहत्तर कर र अल्या गरि १ करोड ६२ लाख आय रहेको छ ।
पालिकाले शिक्षातर्फ ९७ लाख १३ हजार, स्वास्थ्यतर्फ २३ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २२ लाख, युवा तथा खेलकुद विकासतर्फ २५ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ३० लाख, भाषा तथा संस्कृति प्रबद्र्धनका लागि १५ लाख बजेट विनियोजन गरेको छ । यसैगरी सडक तथा झोलुङ्गे पुल निर्माण गर्न ६ करोड ७९ लाख २२ हजार, भवन तथा शहरी विकासतर्फ १ करोड १३ लाख ७० हजार, विद्युततर्फ ३० लाख, बिज्ञान, सूचना तथा सञ्चार प्रविधितर्फ १० लाख बजेट छुट्याइएको छ ।
कृषि क्षेत्रको लागि ३६ लाख ४ हजार, पशुपंक्षीतर्फ ३० लाख ४१ हजार, घरेलु तथा लघु उद्योग ६ लाख, पर्यटन विकास तथा प्रबद्र्धनतर्फ ३० लाख, सहकारीतर्फ २ लाख, सिचाइतर्फ १४ लाख ५० हजारबजेट विनियोजन गरिएको छ । यसैगरी पालिकाले वातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रुपैयाँ बजेट निर्धारण गरेको छ । गएको बर्ष पालिकाले ५१ करोड १५ लाख ९८ हजारको बजेट ल्याएको थियो । यो बर्ष गएको बर्षभन्दा करिब २ करोड ५६ लाख रूपैयाँ कम बजेट ल्याएको छ ।
सीमित अन्तरसरकारी वित्तीय हस्तान्तरणवाट प्राप्त अनुदान र सामान्य आन्तरिक राजश्वको संयोजन र जनप्रतिनिधिको दृढ इच्छाशक्तिको कारण पनि जनआकांक्षा पूरा गर्ने खालका योजना तथा कार्यक्रमहरुतर्फ वजेटलाई डोर्याउने प्रयास भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । उहाँले कैलाश गाउँपालिकामा आन्तरिक र बाह्य पर्यटक भित्र्याई यस क्षेत्रमा पर्यटन बृद्धि गर्नका लागि लिक्चे, देखारी, कैलाश बैकुण्ठ, गुप्तेश्वरी गुफा, घैराङ डाँडा, रानीपोकरी जुरेथुम डाँडा जस्ता ठाउँहरुको पहिचान गरी उचित पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभयो ।