हेटौंडाः शिक्षक सेवा आयोगले बागमती प्रदेशस्तरीय माध्यमिक तहको स्थायी शिक्षक नियुक्तिका लागि आज शनिबार परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा माध्यमिक तहको विभिन्न विषयको ३ हजार एक सय ५६ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षार्थीहरुले शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुर र पायक पर्ने ईकाइबाट सिफारिसपत्रसमेत शुक्रबार बेलुकासम्म लिइसकेका छन् । दृष्टिविहीन करिब ९ परीक्षार्थीले पनि शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरबाट सिफारिसपत्र लिएको ईकाइकी अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो ।
दोलखादेखि दृष्टिविहीन परीक्षार्थी सुजित गुरुङ शुक्रबार परीक्षामा सहभागी हुन आउनुभएको छ । उहाँ सोही दिन सिफारिसपत्र लिन शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर पुग्नुभएको हो । यस्तै, चितवनबाट दृष्टिविहीन परीक्षार्थी अर्जुन जिरेल पनि हेटौंडामा आउनुभएको छ । उहाँहरु सहयोगी साथीको साथमा हेटौंडा आइपुग्नुभएको हो ।
गुरुङ र जिरेलले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र भूटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । आधुनिक राष्ट्रिय माविमा ३ वटा परीक्षा केन्द्र तोकिएको छ । आधुनिकको ‘क’ परीक्षा केन्द्रबाट नेपाली विषयका २ सय ५ जना परीक्षार्थीले परीक्षा दिनेछन् । आधुनिककै ‘ख’ परीक्षा केन्द्रबाट पनि नेपाली विषयकै २ सय ६ जना परीक्षार्थीले परीक्षा दिनेछन् । सोही विद्यालयको ‘ग’ परीक्षा केन्द्रबाट संस्कृत व्याकरणका ६ जना परीक्षार्थीले परीक्षा दिनेछन् ।
भूटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्र ‘क’ बाट अंग्रेजी विषयको २ सय २० जना र ‘ख’ बाट अंग्रेजी विषयकै २ सय २० जनाले परीक्षा दिनेछन् । ज्ञानदा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट पनि अंग्रेजी विषयको २ सय २१ जनाले परीक्षा दिनेछन् ।
बालजागृति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट गणित विषयको २ सय ३० जनाले परीक्षा दिनेछन् । बालज्योति माध्यमिक विद्यालय ‘क’ केन्द्रबाट अर्थशास्त्र विषयको ८० जना र ‘ख’ परीक्षा केन्द्रबाट सामाजिक विषयको २ सय ५५ जनाले परीक्षा दिनेछन् ।
अमर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सामाजिक विषयको २ सय ५५ जनाले परीक्षा दिनेछन् । सिद्वार्थ माध्यमिक विद्यालय परीक्षा केन्द्र ‘क’बाट कार्यालय सञ्चालन तथा लेखा विषयको एक सय ३८ जनाले परीक्षा दिनेछन् । ‘ख’ परीक्षा केन्द्रबाट विज्ञान विषयको २ सय १४ जनाले परीक्षा दिनेछन् । श्रमिक माध्यमिक विद्यालय कर्रा परीक्षा केन्द्रबाट विज्ञान विषयको २ सय १५ जना र वंशगोपाल माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट विज्ञान विषयको २ सय १५ जना परीक्षार्थीले परीक्षा दिनेछन् । १४ वटा परीक्षा केन्द्र तोकिएको अधिकृत ढकालले जानकारी दिनुभयो ।