प्रोटोकल योगमा सहभागीहरु ।

हेटौँडाः नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौँडामा प्रोटोकल योग अभ्यास भएको छ । पतञ्जली योग जिल्ला समिति मकवानपुरले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै बुधबार बिहान प्रोटोकल योग अभ्यासको कार्यक्रम गरेको हो । बागमती प्रदेश सरकारका भौतिक तथा पूर्वाधार मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य तथा पतञ्जली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा हेटौँडा–४, हुप्रचौरमा प्रोटोकल योग अभ्यास कार्यक्रम भएको हो ।

कार्यक्रममा युवा समिति संयोजक लोकनाथ खनाल मुख्य प्रशिक्षक रहनुभएको थियो । योग अभ्यासमा बागमती प्रदेश सभा सदस्य पे्रम बहादुर पुलामी, एका लाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, सुरक्षा निकाय, योग साधक साधिका, विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो दिन असार १ गते महिला रोग विशेष योग सञ्चालन गरिएको थियो । दोस्रो दिन २ गते योग जागरणका लागि बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरेको थियो । ३ गते १२ नम्बर वडामा योग जागरणका लागि प्रभातफेरी कार्यक्रम गरेको थापाले बताउनुभयो । चौथो दिन ४ गते रक्तदान कार्यक्रम भएको थियो । ५ गते हुप्रचौरमा प्रभातफेरी कार्यक्रम भएको थियो ।

कार्यक्रमको अन्तिम बिहिबार हेटौँडा–७ र ८ नम्बर वडामा योगा जागरणको भजन बजाउँदै प्रभातफेरीको आयोजना गरिने अध्यक्ष थापाले बताउनुभयो । योगाले मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुलाई रोक्न र भइसकेको अवस्थामा रोगहरुको सही व्यवस्थापन गर्न पनि योगको आवश्यक्ता रहेको उहाँको भनाई रहेको थियो । योगाबाट बिना पैसाले स्वस्थ रहन सहयोग पुग्ने थापाले स्पष्ट पार्नुभएको छ ।