दीक्षान्त समारोहमा विद्यार्थी स्कार्फ लगाइदिनुहुँदै प्रधानाध्यापक दाहाल ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविले स्काउटमा सहभागी ३७ जना विद्यार्थीलाई दीक्षित गरेको छ । नेपाल स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा पारेर मंगलबार विद्यालयले दीक्षान्त समारोहको आयोजना गरेको हो । स्काउट अगुवा अशोक सारु मगरको उपस्थितिमा विद्यालयले दीक्षान्त कार्यक्रमको आयोजना गरेको हो ।

स्काउटमा सहभागी विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले व्याच र स्कार्फ वितरण गर्नु भएको थियो । स्काउटमा सहभागी भएका विद्यार्थीमा स्वयंसेवी भावको विकास हुने, अनुशासित हुने, नेतृत्व क्षमता विकास हुने भएकोले औपचारिक शिक्षामा पनि सकारात्मक प्रभाव रहने विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । विद्यार्थीलाई स्काउटमा सहभागी गराएर विभिन्न कार्यक्रममा सहभागी गराउँदै आएको र सकारात्मक प्रभाव हासिल भइरहेको उहाँको भनाइ छ ।

विद्यालयका स्काउट शिक्षक भीमप्रसाद पाठकले स्काउटमा विद्यार्थी सहभागी गराएर अनुशासित नागरिक निर्माण गर्ने उद्देश्य रहेको दावी गर्नुभएको छ । स्काउटमा सहभागी विद्यार्थी समूहमा काम गर्ने, सहकार्य गर्ने, भैपरी आउने काममा सहभागी हुन, समस्या समाधान गर्न सक्षम हुने उहाँको भनाइ छ । स्काउटको स्थापना दिवसको अवसरमा मंगलबार हेटौँडामा प्रभातफेरीको आयोजना समेत गरिएको थियो ।