हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसले परीक्षा सकिएको ११ औँ दिनमा मंगलबार परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा सहभागी १ हजार २ सय ९० जना विद्यार्थी मध्ये १ हजार ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
अहिले सम्बन्धित शैक्षिक संस्थाले नै कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षाफल सार्वजनिक हुन ३ महिना लाग्ने अवस्था थियो । आन्तरिकरुपमै परीक्षा सञ्चालन र नतीजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएसँगै विद्यार्थी र अभिभावकले दुई साताभित्रै नतीजा प्राप्त गर्न सफल पाएको हो ।
मकवानपुर क्याम्पसमा प्राश्ना दाहालले सवैभन्दा बढी ३.९२ जीपीएसहित ए प्लस ग्रेड प्राप्त गर्नुभएको छ । परीक्षामा सहभागी विद्यार्थी मध्ये १७ जना विद्यार्थीले ए प्लस, ९३ जना विद्यार्थीले ए ग्रेड प्राप्त गरेको मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा शाखाका वरिष्ठ सहायक राजीव सापकोटाले जानकारी दिनुभएको छ । यस्तै २ सय १३ जना विद्यार्थीले बी प्लस, ३ सय ९७ जना विद्यार्थीले बी र २ सय ८७ जना विद्यार्थीले सी प्लस ग्रेड प्राप्त गरेका छन् । उत्तीर्ण हुन पर्याप्त ग्रेड नपाएका विद्यार्थी २ सय ८३ जना रहेको सापकोटाले जानकारी दिनुभयो ।
मकवानपुर बहुमुखी क्याम्पसले ग्रेड वृद्धिका लागि मौका परीक्षा असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्दैछ । मौका परीक्षाका लागि विद्यार्थीसँग कुनै किसिमको शूल्क नलिइने बताइएको छ । मकवानपुर बहुमुखी क्याम्पसको कक्षा ११ र १२ का प्राचार्य उत्तम अर्यालले अघिल्लो शैक्षिक सत्रको तुलना विद्यार्थीको नतीजामा उल्लेख्य सुधार आएको र कक्षा ११ उत्तीर्ण गरी कक्षा १२ मा पुग्ने विद्यार्थीलाई थप सशक्त बनाउन आवश्यक योजना ल्याउने दावी गर्नुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसले कक्षा १२ को नियमित पठनपाठन असार २४ गतेदेखि सुरु गर्दैछ ।