गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लामा दुईजना र रामेछाप जिल्लामा एकजना गरी ३ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले चितवनको भरतपुर महानगरपालिका–३, पशुपतिमार्गमा आइतबार दिउँसो साढे २ बजे एकजना महिला र भरतपुर महानगरपालिका–१, नारायणी नदि किनारमा सोमबार बिहान साढे ५ बजेको समयमा एकजना पुरुषको शव फेला परेको जनाएको छ । दुवै शवको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

महिला अन्दाजी ४० वर्षीया भएको र पुरुष अन्दाजी ६० वर्षीय भएको प्रहरीले उल्लेख गरेको छ । यस्तै, रामेछापको तीनपाटन गाउँपालिका–२, डडुवामा आइतबार साँझ ७ बजे एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्ने ५८ वर्षीय सोम बहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ । दमाई आइतबार घरदेखि १ सय मिटर पर बारीमा मृत फेला परेका थिए । दमाईको मुखबाट रगत बगेको, बायाँ खुट्टाको पिडौँलामा चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।