हेटौँडाः बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तान्तरण गर्नुभएको छ । आइतबार गृहजिल्ला सिन्धुली पुग्नु भएका मन्त्रि श्रेष्ठले एक कार्यक्रमका बीच जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गर्नुभएको हो ।
कारागारमा रहेका १ हजार कैदीबन्दीलाई दाउरा बालेर खाना बनाउनको असहज तथा स्वास्थ्यमा समेत समस्या हुने गरेको गुनासो आएकोले मन्त्रि श्रेष्ठले खाना पकाउनका लागि राइस स्टीमर मेसिन हस्तान्तरण गर्नुभएको हो । कारागार प्रमुख कुसल न्यौपानेकाअनुसार केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानका लागि समस्या भएको भनी मन्त्रीलाई गुनासो गरिएको थियो ।
मन्त्री श्रेष्ठले भन्नुभयो “दाउरामा बिहान–बेलुका खाना बनाएर खानका लागि कैदीबन्दीले भोगेको समस्या मैले आफैँले देखेँ । कैदिबन्दिको चाप देखेर अस्वभाविक महशुस गरेँ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “राइस स्टीमर नेपालमा भएका थुप्रै कारागार मध्य पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको छ, यो उपकरण नेपालमा सेना तथा प्रहरीले मात्रै प्रयोग गरेको छ, सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्न प्रयास गर्नेछु ।”
कारागारमा खाना पकाउन राइस स्टिमरको व्यवस्था भएको नेपालमा नै पहिलो हुन सक्ने कारागार प्रमुख न्यौपानेले बताउनु भयो । यसरी प्राप्त भएको उपकरणले कैदिबन्दीलाई खाना पकाउन सहज हुने र धुँवाबाट हुने स्वास्थ्यसम्बन्धी समस्या पनि हट्ने कारागार प्रमुख न्यौपानेले बताउनुभयो । २४ ट्रे को २ थान र १२ ट्रे २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो । जसमा एक पटकमा २४ ट्रे मा ७५ किलो र १२ ट्रे मा ३५ किलो चामल पकाउन मिल्ने छ । स्टिमर हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिब ध्रुव गैँडा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख राजकुमार सिलवाललगायतको उपस्थिति रहेको थियो ।