हेटौंडाः मुक्तक मञ्च मकवानपुरको आयोजना तथा गजल मञ्च मकवानपुरको समन्वयमा मुक्तककार देवराज खरेलको मुक्तक संग्रह विमोचन गरिएको छ । शनिबार साहित्यकारहरुको जमघटमा एक कार्यक्रम गरेर खरेलको मुक्तक संग्रह अकिञ्चनका आर्तहरु विमोचन गरिएको हो ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाको सभाध्यक्षमा खरेलको ५ औं कृति अकिञ्चनका आर्तहरु विमोचन गरिएको छ । यो कृति खरेलका दोस्रो मुक्तक संग्रह हो ।
खरेल निबन्धकार, कवि, हाम्रो मातृभूमि साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादक तथा प्रकाशकसमेत हुनुहुन्छ । खरेलका आत्मध्वनि (कविता संग्रह)-२०६५, स्मृतिका टिपोट (निबन्ध संग्रह)-२०६८, प्रेमका पाइलाहरु (मुक्तक संग्रह)-२०७० र जिन्दगीदेखि जिन्दगीसम्म (निबन्ध संग्रह)-२०७८ कृति प्रकाशित भइसकेको छ ।
एक सय वटा मुक्तक संग्रह समेटिएको विमोचन गरिएको कृति अंग्रेजी भाषामा समेत अनुवाद गरिएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भाषागत त्रृटि सच्याउनुभएको उक्त कृति डा. लोकराज शर्माले अंग्रेजी भाषामा अनुवाद गर्नुभएको छ ।
मुक्तककार तथा समीक्षक विश्वनाथ सञ्जेलले विमोचित कृतिको समीक्षा गर्नुभएको थियो । विषयगत विविधता र भाव मुक्तकले झल्काएको उहाँले बताउनुभयो । सूक्ष्म भावमा ध्यान पुग्दैन तर, मुक्तककार खरेलले सूक्ष्म भावमा केन्द्रित रहेर मुक्तक लेखेको बताउनुभयो । हालसम्म प्रकाशित कृतिहरुमध्ये अन्य कृतिजस्तै खरेलको उक्त कृति मुक्तक संग्रह चोटिलो र छरितो पाएको बताउनुभयो ।
जीवनको उज्यालो माध्यम खोज्ने र उज्यालो जीवन खोज्न सहजता मुक्तकले दिने उहाँको धारणा छ । मुक्तककारहरुले चतुर्थ रुवाइलाई पन्छाएको पाउँछौं भन्दै सञ्जेलले खरेलले पनि उक्त रुवाइलाई पन्छाएको बताउनुभयो । आशावादी, चिन्ता, शृङ्गारिक, विभेद, वैदेशिक पीडा मुक्तकको सबल पक्ष रहेको छ । जसले एउटै संग्रहभित्र फरकफरक स्वाद पस्किएको बताउनुभयो ।
मुक्तकको अनुसन्धान र अध्ययन गर्नेहरु कठोर हुने र विभिन्न कार्यक्रममा बाक्लै उपस्थिति पनि हुने उहाँले बताउनुभयो । जसको वाचन शैलीले चटनीको स्वाद लिएन भने मुक्तकले पनि चटनीको स्वाद लिन पाउँदैन । सुन्दर ढंगले प्रस्तुत गरिए पनि कतिपय मुक्तक जटिल पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।
समीक्षक सञ्जेलले आफूले नेपाली भाषाका मुक्तकमात्र समीक्षा गर्ने भएकाले अंग्रेजी भाषाको स्वादको भने अनुभूति गर्न नपाएको बताउनुभयो । उहाँले नेपाली र अंग्रेजी दुबै मुक्तकको समीक्षा हुनुपर्ने धारणा राख्नुभयो ।
मुक्तक मञ्चका सल्लाहकार दीपक गौतमले मुक्तक सरल रहेको बताउनुभयो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले यो यात्रालाई निरन्तरता दिन आग्रह गर्नुभयो । आफूले भाषागतरुपमा शुद्धाशुद्वी हेर्ने जिम्मेवारी पाएको पनि बताउनुभयो । कार्यक्रममा हेटौंडा–५ का वडा सदस्य ज्ञानबहादुर थापा, खरेलकी सुपुत्री प्रमिता शर्मा, साहित्यकारहरु माधव पोखरेल, केशव समर्पणलगायतको उपस्थिति थियो ।
खरेलले उज्यालो यात्रामा सहयोगका लागि आभार प्रकट गर्नुभयो । जीवनका कथा, व्यथा र भोगाइलाई प्रस्तुत गरिएको र प्रतिक्रियाको अपेक्षा पाठकबाट गर्नुभयो ।