हेटौंडाः हेटौंडा–१० मा हुन लागेको एकजोडीको बालविवाह रोकिएको छ । २५ गते विवाह हुन लागेको जानकारीपछि वडाको पहलमा बालविवाह रोकिएको हो ।


हेटौंडा–१० का बालमैत्री वडा सहजकर्ता सविता बिष्टका अनुसार विवाह हुन लागेको उक्त दिन बालविवाह रोकिएको छ । हेटौंडा–१० का १७ वर्षीय बालिका र १९ वर्षीय बालकबीच हुन लागेको विवाह रोकिएको हो । गत वर्ष भागी विवाह गरिसकेको बताइएको छ ।

बालिका पक्षको अभिभावकको सहमति नभएपछि हिन्दू परम्पराअनुसार विवाह हुन सकेको थिएन । भोजभतेर तयारी गरिसकेको अवस्थामा अभिभावकको सहमतिमा हुन लागेको विवाह रोकिएको जानकारी बिष्टले दिनुभयो । दुबै पक्षको अभिभावकको सहमतिपछि २० वर्ष पुगेपछि मात्र विवाह गरिने भएको छ । बालमैत्री स्थानीय शासन घोषणा अवलम्बनका लागि बालविवाह रोक्ने प्रयास भइरहेको छ ।