हेटौँडा उपमहानगर क्षेत्रका केही विद्यालयका शिक्षकहरु आफ्ना विद्यार्थीलाई रचनात्मक क्रियाकलापसहित शिक्षा प्रदान गर्न सकारात्मक देखिन थालेका छन् । साहित्यमा समेत क्रियाशील शिक्षकहरु क्रियाकलाप र सहभागितामूलक शिक्षाको अभ्यासमा अभ्यस्त देखिन्छन् । हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविका अंग्रेजी विषयका शिक्षक मीनप्रसाद लामिछाने र नेपाली विषयका शिक्षक विश्वनाथ सञ्जेलसँग समृद्ध समाज दैनिककी संवाददाता सुप्रभा शर्माले गरेको कुराकानीको सम्पादित अंशः
समाजः लामो समयको शिक्षण पेसाको अनुभवलाई नियाल्दा पहिला र अहिलेको शैक्षिक वातावरणमा कस्तो परिवर्तन महसुस गर्नुभएको छ ?
लामिछानेः म लामो समयदेखि शिक्षण पेसामा आवद्ध छु । करिव ३९ वर्षको शिक्षण अनुभवलाई हेर्दा पहिलेभन्दा अहिले समुदाय, विद्यार्थी, अभिभावकहरुको शिक्षालाई हेर्ने दृष्टिकोण, सरकारको नीति र शिक्षाप्रतिको आकर्षणमा धेरै परिवर्तन भएको देखिन्छ । साथसाथै पठनपाठन प्रक्रिया तथा अध्यापन विधिमा समेत ठूलो परिवर्तन भएको छ ।
समाजः पहिलेको अध्यापन विधि भन्दा अहिलेको विधिमा के थप भएको महसुस गर्नुभएको छ ?
लामिछानेः पहिला चाहिँ सामान्यतया शिक्षकले अगाडि बसेर व्याख्या गर्ने र विद्यार्थी ध्यान दिएर सुनी घोकेर वा रटेर पढ्ने वा पढाउने चलन रहेको थियो भने अहिले सुचना, प्रविधिको क्षेत्रमा आएको परिवर्तनले गर्दा संसार नै एउटा घर जस्तो भइसकेको छ । जसले गर्दा विभिन्न देशहरुको अध्यापन विधिहरुलाई हेरी विद्यार्थी, अभिभावक र समुदायको मागअनुसार शिक्षण विधिलाई सूचना प्रविधिमा रुपान्तरण भइरहेको छ ।
समाजः तपाईले नै पढाउनुभएका पहिलाको विद्यार्थीहरु र अहिलेको विद्यार्थीहरुमा के फरक महसुुस गर्नुभयो ?
सञ्जेलः मैले शुरु–शुरुमा पढाउन थाल्दाखेरीको विद्यार्थीहरु शिक्षकहरुको कुरा ध्यान दिएर सुन्ने र बुझ्ने, धैर्य भएर बस्ने, अह्राएका तथा दिएका क्रियाकलापहरु सहजै स्वीकार गर्ने खालका थिए । उनीहरुले शिक्षक तथा अभिभावकले भनेका कुराहरुलाई पालना गरी अगाडि बढ्नुपर्छ भन्ने सोच राख्थे भने अहिलेका विद्यार्थीहरुमा त्यो कुराहरुको कमि भएको देखिन्छ । प्रविधिको प्रयोग तथा पहिलाको भन्दा अहिलेका अभिभावकहरु बढी सचेत भएको कारणले गर्दा त्योबेलाको विद्यार्थीमा भन्दा अहिलेको विद्यार्थीमा धेरै परिवर्तन देखिन्छ ।
समाजः तपाई एउटा साहित्यिक क्षेत्रमा लाग्नुभएको व्यक्ति हुनुहुन्छ । विद्यार्थीहरुलाई साहित्यिक क्षेत्रमा जोड्दै पढाउन कत्तिको सहज भएको छ ?
सञ्जेलः एउटा विषयशिक्षक भएर मात्र कक्षामा प्रवेश हुनु र एउटा विषय शिक्षकको साथै सिर्जनशील व्यक्ति कक्षामा प्रवेश हुनु निकै फरक हुन्छ । हामी जस्तो कथा, कविता, गीत, गजल, मुक्तक लेख्ने र सुनाउने शिक्षकको कक्षा अरुको भन्दा बिल्कुलै फरक हुन्छ । अरु विषय शिक्षकसँगभन्दा साहित्यमा लागेका शिक्षकसँग विद्यार्थीहरु कुनै न कुनै रुपमा बढी नजिक हुन्छन् । त्यसले गर्दाखेरी अरु विषयको भन्दा नेपाली र अङ्ग्रेजी विषयको कक्षा बढी प्रभावकारी भएको र नतिजा पनि अरु विषयमा भन्दा राम्रो आएको देखिन्छ ।
समाजः वास्तवमा शिक्षकमा हुनुपर्ने गुण के के हुन् र कस्ता व्यक्तिले शिक्षण पेसा अपनाउँदा उपयुक्त हुन्छ ?
लामिछानेः वास्तवमा शिक्षकलाई कुनै विषय विशेष ज्ञान मात्र भएर नहुने रहेछ । अभिभावक तथा समुदायको शिक्षक भनेको सबै विषयमा ज्ञान भएको तथा सर्वगुण सम्पन्न हुनुपर्छ भन्ने बुझाई रहेको छ तर एउटै व्यक्तिमा सबै विषयको ज्ञान भने हुँदैन । त्यही पनि सम्भव भएसम्म शिक्षक एउटा आदर्शवान् व्यक्ति हुनुपर्छ । शिक्षक अनुकरणीय हुनुपर्छ र शिक्षकसँग बढीभन्दा बढी सीप हुनुपर्दछ ।
समाजः विद्यालयको कार्यक्रम संयोजक हुनुभएर तपाईले के कस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुलाई सहभागी गर्दै आइरहनु भएको छ ?
लामिछानेः विद्यालयमा हुने सबै खालको क्रियाकलाप तथा कार्यक्रमहरुमा आफैँ सहभागी भई विद्यार्थीहरुलाई पनि सहभागी गर्दै आएको छु । हाम्रा विद्यार्थीहरुलाई विभिन्न संघ, संस्थाहरुले आयोजना गर्ने विभिन्न खालका प्रतियोगितामा भाग लिनका लागि हौसला दिने, सिकाउने र संयोजन गरी पठाउँदै आएको छु ।
समाजः शिक्षण पेसा कै क्रममा तपाईले गाउँको विद्यालयदेखि लिएर सहरका विद्यालयहरुसम्म अध्यापन गर्नुभएको अनुभव बटुल्नु भइसकेको छ । यसलााई नियाल्दा गाउँ क्षेत्रको विद्यार्थी र सहरी क्षेत्रको विद्यार्थीहरुमा के फरक पाउनुभयो ?
सञ्जेलः फरक–फरक जिल्ला र फरक–फरक ठाउँका विद्यालयहरुमा अध्यापन गराएको अनुभवलाई हेर्दा गाउँका विद्यार्थी र सहरका विद्यार्थीबीच धेरै फरक पाएको छु । ठाउँ, अवस्था र सुविधाअनुसार सहर र गाउँका विद्यार्थीहरुको पढाईलाई हेर्ने दृष्टिकोणमा पनि फरक पाइन्छ । गाउँका विद्यार्थीहरुमा संस्कार र अनुशासन अलि बढी हुन्छ । बाटोमा हिँड्दै गर्दा पनि गाउँका विद्यार्थीहरुलाई फलानाको छोरा–छोरी, नाति–नातिनी वा भाञ्जा–भाञ्जी भन्ने ढङ्गले सबैले नजर लगाइरहेको हुँदो रहेछ र गाउँमा विद्यार्थी संख्या पनि थोरै हुन्छ । तर सहरका विद्यार्थीहरुमा चाहिँ संस्कार र अनुशासनको कुराहरुमा गाउँका विद्यार्थीमा भन्दा कम देखिन्छ ।