पूर्वविद्यार्थीद्वारा जनप्रियलाई खानेपानी फिल्टर दिँदै गर्दाको तस्वीर ।

हेटौंडाः हेटौंडा–१६, हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले खानेपानी फिल्टर सहयोग प्रदान गरेका छन् । पूर्वविद्यार्थीले आइतबार विद्यालयलाई ४ वटा खानेपानी फिल्टर (वाटर प्युरिफायर) सहयोग गरेका हुन् ।
एसएलसी ब्याच २०६८ को समूहले रुपक विकको संयोजकत्वमा फिल्टर सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी फिल्टर हस्तान्तरण गरिएको छ ।

विद्यालयमा पानीको व्यवस्थापन हुन नसक्दा विद्यालय नै बन्द गर्नुपरेको क्षणलाई स्मरण गर्दै त्यसो हुन नदिन फिल्टर सहयोग गरिएको बताइएको छ । आफ्नो पारिश्रमिकबाट आएको रकम छुट्याएर भए पनि शुद्ध खानेपानी आपूर्तीमा अभाव हुन नदिन फिल्टर सहयोग गरिएको विकले बताउनुभयो ।

वडा अध्यक्ष कोइरालाले पूर्वविद्यार्थीको कार्य सकारात्मक रहेको धारणा राख्नुभयो । सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नसके देश विकास हुन कसैले नरोक्ने उहाँको भनाई छ ।

विद्यालय प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले पूर्वविद्यार्थी समग्र विद्यालयकै प्रतिविम्बन भएको बताउनुभयो । विद्यार्थीको उक्त अभियानमा प्रतिबद्वता जनाउँदै आफ्नो तर्फबाट समेत १ थान फिल्टर थप गरिएको उहाँले जानकारी दिनुभयो । जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा. विजय नेपालले पनि १ थान फिल्टर सहयोग गर्नुभयो । चौलागाई र नेपालले सहयोग गर्नुभएको २ थान फिल्टरसमेत विद्यालयलाई ६ थान फिल्टर प्राप्त भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाले आफ्ना छोराछोरी पनि उक्त विद्यालयको पूर्वविद्यार्थी भएकाले आफ्नो तर्फबाट पनि १ थान फिल्टर सहयोग गरिने बताउनुभयो ।