सज्जन रिमाल, सचिव नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुर

विद्यालय कर्मचारीले आफ्ना माग सरकारले सम्बोधन नगरेको भन्दै एक सातादेखि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा धर्ना दिएका छन् । देशव्यापी एकसाताको धर्ना कार्यक्रम सकिएसँगै विद्यालय कर्मचारीले आन्दोलनका कार्यक्रम संघीय राजधानी केन्द्रित गर्ने भएका छन् । यसै सन्दर्भमा समृद्ध समाजकी सुप्रभा शर्माले आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुरका सचिव सज्जन रिमालसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः तपाइँहरु आन्दोलनको क्रममा किन धर्ना बस्नु भएको ?
रिमालः
यो धर्ना आन्दोलन पहिलो पटक गरिएको होइन, २०४७ सालमा हाम्रो संस्था स्थापना भएपछि नेपाल सरकारले जसरी अन्य सरकारी निकायहरुमा एउटा कार्यालय सहयोगी दिन्छ, लेखापाल दिन्छ, भान्सेहरु दिन्छ तर विद्यालयमा त एउटा कार्यालय सहयोगी र लेखापाल चाहिन्छ भन्ने पनि महसुस गर्न नसकेको अवस्था र महसुस गरेको जस्तो पनि गर्ने र उनीहरुलाई उचित् पारिश्रमिक पनि नदिने अवस्था सृजना गरेको कारण हामी धर्नामा बस्नु परेको छ ।

समाजः धर्ना आन्दोलन शुक्रबारबाट सकिएपछि अर्को अभियान के रहेको छ ?
रिमालः
धर्ना आन्दोलन २१ गतेबाट शिक्षा विकास तथा समन्वय इकाईमा सुरु गर्यौं । आज (शुक्रबार) बाट अन्त्य भएको छ र अब २८ गतेबाट काठमाडौंमा नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म थाल ठटाएर बिरोध गर्ने कार्यक्रम रहेको छ । यसपछि पनि चरणबद्धरुपमा रिले अनसन, विद्यालय बन्दका कार्यक्रमहरु छन् ।

समाजः यो आन्दोलनले माग पुरा हुन्छ ?
रिमालः
माग पुरा नगर्ने हो भने नेपाल सरकारले हाम्रीलाई स्पष्ट विद्यालयमा कर्मचारी चाहिँदैन, विद्यालय आफैँ चल्छ, विद्यालयका ढोका आफै लाग्छ, विद्यालयका घन्टी आफै बज्छ, विद्यालयका हिसाब–किताब आफैँ बस्छ, त्यहाँ कुनै पनि कर्मचारीहरु चाहिँदैन भनिदिनु पर्यो । होईन भने हाम्रो माग पूरा गरिदिनु पर्यो । यो माग पुरा हुनैपर्छ भने कुरा हो ।