स्कूल क्याप्टेन मन्दीप यादवसहित निर्वाचनको परिणाम सार्वजनिक भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको क्याप्टेनमा २ सय ४२ मत प्राप्त गरी मन्दीप यादव विजयी भएका छन् । ९ कक्षाका यादवले अरु ३ जना प्रतिस्पर्धीलाई पराजित गर्दै स्कूल क्याप्टेनमा निर्वाचित भएका हुन् ।

शुक्रबार बिहान निर्वाचन भएको निर्वाचनमा कक्षा ८, ९ र १० मा अध्ययनरत ५ सय २ जना विद्यार्थीले मतदान गरेका मतदान अधिकृत संगीता उप्रेतीले जानकारी दिनुभयो । यस्तै भाइस क्याप्टेनमा २०१ मत प्राप्त गरी विक्रान्त सिंह राजपुत निर्वाचित भएका छन् । भाइस क्याप्टेनमा ५ जनाको उम्मेदवारी परेको थियो । यस्तै रेड हाउस क्याप्टेनमा राहुल प्रसाद जैसवाल, भाइस–क्याप्टेनमा अमन बनियाँ, ब्लु हाउस क्याप्टेनमा आरभ यादव र भाइस–क्याप्टेनमा प्रिन्सा पोखरेल, ग्रिन हाउस क्याप्टेनमा आदित्य मिश्र, भाइस–क्याप्टेनमा सुशान्त यादव, यल्लो हाउस क्याप्टेनमा सुर्जनी अर्याल र भाइस–क्याप्टेनमा शक्ति रौनियार विजयी भएका छन् ।

विद्यार्थीलाई निर्वाचनको प्रक्रियाका बारेमा जानकारी गराउन र आगामी दिनमा विद्यालय प्रशासन र व्यवस्थापन समितिमा समेत विद्यार्थी प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्न क्याप्टेन, भाइस क्याप्टेनको निर्वाचन गरिएको प्रधानाध्यापक माधवप्रसाद दाहालले बताउनुभएको छ । चार वटा हाउससहित स्कूल क्याप्टेन र भाइस–क्याप्टेन १० जनाका लागि ५५ जनाको उम्मेदवारी परेको थियो ।