नेपाल पुलिस क्लबविरुद्ध स्पाइक प्रहार गर्दै एपीएफ क्लबका स्पाइकर ।

हेटौँडाः हेटौँडामा जारी खुला राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिसलाई पराजित गरेर सशस्त्र प्रहरी बलको एपीएफ क्लब समूह विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बिहिबार दिउँसो भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ समूह विजेता बन्दै फाइनल प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा पराजित भए पनि नेपाल पुलिस क्लब उपविजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ । पहिलो र दोस्रो सेट प्रतिस्पर्धात्मक बने पनि तेस्रो र चौथो सेटमा नेपाल पुलिस क्लब कमजोर देखियो । पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २६–२८ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२१, २५–२० ले आफ्नो पक्षमा पार्दै एपीएफ समूह विजेता बन्न सफल भएको हो । म्यान अफ द म्याच एपीएफका महेन्द्र श्रेष्ठ घोषित भए ।

बिहिबारको दोस्रो नेपाल आर्मी र गण्डकी प्रदेश भलिबल टिमबीच भइरहेको छ । दोस्रो खेल पनि समूह विजेता र उपविजेता छनोट गर्नका लागि मात्रै हुनेछ । आर्मी र गण्डकी समूह चरणको दुवै खेल जितेर सेमीफाइनल प्रवेश गरिसकेको छ । शनिबार बिहान फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका रहेको छ ।