करिब एक दशकअघि स्थापना भएको मानवसेवा आश्रम मानवता प्रवद्र्धनको क्षेत्रमा अब्बल सावित भइरहेको छ । आश्रमले देशव्यापी अभियान सञ्चालन गरी सहयोगापेक्षी मानवलाई आवश्यक सहयोग गर्दै आएको छ । मानवसेवा आश्रमले देशका विभिन्न स्थानमा आश्रम सञ्चालन गरेर सहयोगापेक्षी मानिसहरुलाई संरक्षण दिँदै पारिवारिक पुनर्मिलनसमेत गराउँदै आएको छ । मानवसेवा आश्रमले स्वेच्छिक दाताहरुको सहयोगमा आफ्नो अभियान कुशलतापूर्वक सञ्चालन गरिरहेको छ । मानवसेवा आश्रमले चलाइरहेको अभियान निकै सार्थकसमेत बनिरहेको छ । आश्रमलाई व्यक्तिगत एवम् संस्थागतरुपमा आवश्यक सहयोग जुटिरहेको छ । सरकारी निकायहरुले पनि आश्रमको अभियानमा सहयोग गर्दै आएको छ । आश्रमले मानवीय कल्याणको काम गरिरहेका कारण पनि यस अभियानमा सबैले हातेमालो गरिरहेका छन् । स्थापनाको छोटो समयमै सहयोग जुटाएरै भए पनि मानवतालाई जोगाउँदै आएका कारण उसको अभियानमा सक्दो सहयोग गर्ने सहयोगी हातहरु जुटिरहेका छन् ।

हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रमको अभियान अहिले देशका विभिन्न शहरमा विस्तार भइसकेको छ । मानवसेवा आश्रमको मुख्यालय हेटौंडा–९ मा रहेको छ । २०६९ साल भदौ १३ गते आश्रमको औपचारिक शुभारम्भ भएको थियो । हाल ७ प्रदेशको विभिन्न १९ वटा जिल्लामा मानवसेवा आश्रमका २३ सेवा केन्द्रहरु सञ्चालनमा छन् । एक दशकमा ७७ वटै जिल्लाबाट ८ हजार बढीको उद्दार भइसकेको छ । एक हजार ५ सय २९ जना आश्रमको संरक्षणमा छन् । कसैले पनि एक गाँस भोजन र एक सरो कपडाको अभावमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था निर्माण गर्ने दृढ संकल्पसहित आश्रमको शुभारम्भ गरिएको हो । सरकारको आलोचना गर्नुभन्दा सरकारको सहयोगी भई सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गराउने उद्देश्य बोकेको मानवसेवा आश्रम आफ्नो उद्देश्यमा सफल देखिएको छ ।

आश्रमले मंगलबार आर्थिक वर्ष २०७८/०७९ को आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मानवसेवा आश्रमले दानबाट ७ करोड ३० लाख ६३ हजार रुपैयाँ र अन्य दान, चन्दा तथा सहयोगबाट ५४ लाख ९१ हजार रुपैयाँ गरी ७ करोड ८५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा मानवसेवा आश्रमको खर्च ३ करोड ४१ लाख ५२ हजार रुपैयाँ भएको बताइएको छ । मानवता प्रवद्र्धनका लागि नेपथ्यको सांस्कृतिक कार्यक्रम गरेर आश्रमले २ करोड ३ लाख ६४ हजार रुपैयाँ बचत गरेको छ । आश्रममा गुणस्तरीय सेवा प्रवाहका लागि एक आश्रितका लागि मासिक १५ हजार रुपैयाँ खर्च आवश्यक हुने आश्रमको भनाई छ । आश्रमले विभिन्न जिल्ला तथा प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्दै पूरै देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ ।

मानवसेवा आश्रमले सञ्चालन गरेको अभियान सामान्य छैन । तीन तहको सरकारले समेत गर्न नसकेको कामलाई मानवसेवा आश्रमले अगुवाई गरिरहेको छ । आश्रमको यो अभियानमा सहयोग जुटिरहेको भए पनि गुणस्तरीय सेवाप्रवाहका लागि आवश्यक पर्ने सहयोग नजुटेको आश्रमको भनाई छ । आश्रमले स्रोतको खोजीमा ध्यान केन्द्रित गर्नु परेका कारण सेवाप्रवाहमा चाहेजस्तो गुणस्तर दिन नसकेको बताएको छ । सडकमा कष्टकर जीवनयापन गरिरहेका असहाय मानवलाई सहयोग गर्दै आएको मानवसेवा आश्रमको अभियानमा सबैले हातेमालो गर्नु आवश्यक छ । सक्नेले स्वेच्छिकरुपमा आश्रमलाई सहयोग गरेमा मानवता प्रवद्र्धन अभियानमा सहयोग पुग्ने निश्चित छ । आश्रमलाई सहयोग गर्दा कष्टपूर्ण जीवनयापन गरिरहेका असहाय, अशक्त, अनाथ, अपाङ्ग एवम् मनोरोगीलाई सेवा पुग्ने सबैले बुझ्नुपर्छ । मानवसेवाजस्तो उच्चस्तरको सेवामा योगदान दिने अवसरलाई सबैले उपयोग गरौं । सकेको सहयोग गरौं । मानवता प्रवद्र्धनमा हातेमालो गरौं ।