हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय अगाडि राखिएको हातधुने स्टेशन ।

हाल विश्वभर महामारीको रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गईरहेको छ । पछिल्लो समय २ जनाको मृत्यु समेत भइसकेको छ । जारी लकडाउनका कारण आम नागरिकको दैनिकजीवन कष्टकर समेत बनेको छ । कोरोना भाइरसको संक्रमण नहोस् भनेर आम नागरिकले सचेतताका साथ दैनिक क्रियाकलाप सर्वसाधारणले गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार जिम्मेवार हुनुपर्ने कुरामा दुईमत छैन । तर, हरेक नागरिकदेखि समाजमा रहेका विभिन्न संघ, संस्थाले पनि आआफ्नो तर्फबाट कोरोना भाइरस नियन्त्रणका लागि सक्दो प्रयास जरुरी छ ।

सन्जय न्यौपाने

यसै क्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पनि यसबीचमा सक्दो प्रयासहरु गरिरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा बोर्डले स्वास्थ्य सचेतना एवम् सरसफाईका लागि आवश्यक व्यवस्थापन गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न भाइरसको रोकथाम तथा नियन्त्रणको लागि बोर्डको कार्यालय परिसर भित्र कोरोना भाइरसबारे जानकारीमूलक फ्लेक्स टाँस गरिएको छ । यसले कार्यालयसम्म आउने सेवाग्राहीलाई सचेत हुन सहयोग पुग्नेछ । कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुका लागि कार्यालय भित्र छिर्ने गेट अगाडि साबुन, पानीले हात धुने र सेनिटाइज गर्ने व्यवस्था मिलाउनुका साथै थर्मल गन मेसिनबाट तापक्रम समेत मापन गर्ने गरेको र मास्कको प्रयोग गरेर आउनेहरुलाई मात्र कार्यालय भित्र प्रवेश गराउने गरिएको छ । यसले सरसफाईसँगै संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ । महसुल भुक्तानी गर्ने स्थानमा पनि भौतिक दुरी कायम गर्ने गरी रेखाङ्कन गरिएको छ । जसले महसुल भुक्तानी गर्न आउने उपभोक्ताबीच संक्रमणको जोखिम न्यून हुनेछ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय प्रवेश गर्ने सेवाग्राहीको ज्वरो मापन गरिँदै ।

२०७६ चैत ११ देखि नेपाल सरकारबाट लकडाउन जारी भए पश्चात बोर्डको अत्यावश्यक सेवाहरु खानेपानी उत्पादन, वितरण र मुख्य तथा शाखा पाइपलाइन मर्मत बाहेक अन्य सेवाहरु बन्द रहेको थियो । तर, २०७६ बैशाख २६ गतेबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी स्वास्थ सम्बन्धी प्रोटोकलको पालना गर्दै खानेपानी महशुल संकलन, मिटर रिडिङ्ग लगायत अन्य नियमित कार्यहरु सुचारु गरिएको छ । बोर्डले २०७६ चैत महिनाको न्युनतम पानी महशुलमा २५ प्रतिशत छुट दिनुको साथै २०७६ फागुन र चैत महिनाको पानी महशुल २०७६ जेठ १५ गतेसम्म भुक्तानी गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । यसले हाम्रा उपभोक्ताहरुलाई थोरै भए पनि राहत मिल्ने अपेक्षा गरेका छौं ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको महसुल काउन्टरमा भौतिक दुरी कायम गर्न गरिएको रेखांकन ।

हेटौंडाको नगर क्षेत्र भित्र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि जिल्लाभर रहेको विभिन्न लायन्स तथा लियो क्लबहरुको सहकार्यमा विभिन्न १३ स्थानमा हातधुने स्टेशन स्थापना गरेको छ । हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, खानेपानी व्यवस्थापन बोर्ड, मानसचोक, बुद्धचोक, बसपार्क, हुप्रचौर, पिप्लेचोक, रातोमाटे चेकपोष्ट, पल्पसारोड र हेटौंडा औद्योगिक क्षेत्र गेटमा स्थापना गरिएको हात धुने स्टेशनका लागि बोर्डले निशूल्क पानी निरन्तर उपलब्ध गराउनुका साथै पाइपलाइन जडानको काम समेत निशूल्क रुपमा गरिदिएको छ । लायन्स तथा लियो क्लबहरुले उपलब्ध गराएको खुट्टाले थिचेर हात धुन मिल्ने ५०० लिटरको टंकी, टंकी स्ट्याण्ड तथा धारामा यस बोर्डबाट दैनिक पानीको व्यवस्थापन गर्ने गरी २९ सय बराबरको फिटिङ्ग सामाग्री जडान गरी पानी हाल्ने व्यवस्था मिलाइएको छ । हाल उक्त टंकीहरुबाट दैनिक सरदर ५०० देखि ६०० लिटर पानी खपत भई रहेको छ । अन्य स्थानहरुमा विभिन्न संघ संस्थाहरुबाट अनुरोध भई आएको खण्डमा हातधुने धारा जडान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।

यसरी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो तर्फबाट गर्न सकिने काम गरेर यो संकटको बेलामा केही प्रयास गरेको छ । यो महासंकटका बेला सबै क्षेत्र, निकायले आआफ्ना क्षेत्रबाट प्रयास गर्ने हो भने सरकारलाई सहयोग पुग्ने थियो भने मुख्यतः आम नागरिकको स्वास्थ्य र सुरक्षाको महाअभियानमा साथ र सहयोग हुने थियो । यसर्थ सबैलाई सुरक्षित रहन र घरमै रहन समेत आग्रह गर्दै सबैले आआफ्नो क्षेत्रबाट कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरणमा सक्रिय हुने अपील गर्दछु ।

(लेखक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी हुनुहुन्छ ।)