हेटौँडाः तेश्रो संस्करणको हेटौंडा मेयर कपमा फुटबल प्रतियोगितामा १० नम्बर वडाले विजयी सुरुवात गरेको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा मंगलबार भएको खेलमा ६ नम्बर वडालाई २–० गोलअन्तरले हराउँदै १० नम्बरले विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताको साविक विजेता समेत रहेको १० नम्बर वडालाई जित दिलाउन प्रीतम स्याङ्बोेले दुई गोल गरे । स्याङ्बोले दुवै गोल दोस्रो हाफमा गरे । स्याङ्बोले एक गोल पेनाल्टीमार्फत गरेका हुन् । हेटौंडामा गत शनिबार सम्पन्न दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा मकवानपुर फुटबल टिमको कप्तानी सम्हालेका स्याङ्बोले मकवानपुरलाई दोस्रो पटक उपाधी दिलाउन सफल भएको थियो । स्याङ्बो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । म्यान अफ द म्याच भने ६ नम्बर वडाका सुरज स्याङ्तान घोषित भए । खेल सम्पन्न भएसँगै दुवै वडाका टिमबीच झडप समेत भएको थियो ।
यसअघि सोमबार उद्घाटन खेलमा १५ नम्बर वडाले ३ नम्बर वडालाई पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा १८ नम्बर वडा र ४ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५/५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।