सांकेतिक तस्वीर ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ रजैयामा मिनि ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको विहार बेटिया–१२ का १८ वर्षीय पोशन शेख रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

शनिबार बिहान ११ बजेर २५ मिनेटको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार शेखलाई ठक्कर दिँदा शेख गम्भीर घाइते भएको थियो । घाइते शेखलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा शनिबार दिउँसो १२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको थियो । बस ड्राइभरको सिटभन्दा पछाडी सिटमा झ्यालबाट हात बाहिर निकालिरहेको अवस्थामा शेखलाई ट्रकले ठक्कर दिएको थियो । प्रहरीले ट्रक र बस चालक नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।