हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ रजैयामा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेर २५ मिनेटको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार एक पुरुषलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
बस ड्राइभरको सिटभन्दा पछाडी सिटमा झ्यालबाट हात बाहिर निकालिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा अन्दाजी ३२ वर्षीय एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । पुरुषलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकोमा १२ बजेर १३ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जनाएको छ । ट्रक र बस चालक नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्की बताउनुभयो ।











