जीतपछि खुशियाली मनाउँदै मकवानपुरका रग्बी खेलाडीहरु ।

हेटौँडाः हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीमा महिलातर्फ मकवानपुर र पुरुषतर्फ भक्तपुरले स्वर्ण जितेको छ । शनिबार बिहान हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा महिलातर्फ मकवानपुरले ललितपुरलाई र पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई पराजित गर्दै उपाधी जितेको हो ।

महिलातर्फ मकवानपुरले ललितपुरलाई १७–१० स्कोरले हराएको हो भने पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले हराएको हो । महिलातर्फ मकवानपुरका लागि पुष्पा खड्काले सर्बाधिक १० स्कोर, मनिषा घिसिङले ५ स्कोर र ज्योति बोम्जनले २ स्कोर बनाए । मकवानपुरका महिला टिम चितवनलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने पुरुष टिम रामेछापलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

स्वर्ण विजेता दुवै टिमलाई शनिबार साँझ हुने समापन कार्यक्रममा पुरस्कार वितरण गरिने मकवानपुर रग्बी संघका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिनुभयो ।