हेटौंडाः दोस्रो संस्करण बागमती प्रदेश खेलकदको आज शनिबार समापन हुँदैछ । गत आइतबारबाट मकवानपुरसहित प्रदेशका ४ जिल्लामा आयोजित प्रतियोगिताको आज शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा समापन हुनेछ ।
शनिबार पुरुष फुटबलको फाइनल खेल सम्पन्न भए लगतै प्रतियोगिताको समापन कार्यक्रम हुने जनाएको छ । पुरुष फुटबलको उपाधीका लागि प्रतियोगिताको साविक विजेतासमेत रहेको मकवानपुर र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीबीचको खेल दिउँसो ४ बजे पिप्ले–क्याम्पा रंगशालामा सुरु हुनेछ । मकवानपुर काभ्रेलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने काठमाडौं भक्तपुरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । महिला फुटबलको उपाधी भने काठमाडौंले जितेको थियो ।











