पिटिए गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माविमा शिक्षक अभिभावक संघ (पिटिए) को अध्यक्षमा गोविन्दप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । शनिबार बिहान भएको अभिभावक भेलाबाट ९ कक्षामा अध्ययनरत सिजन अर्यालका अभिभावक गोविन्दप्रसाद अर्याल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

अभिभावक भेलाले बबिता बानियाँ, प्रविण पुडासैनी, सीता रिजाल, मनिषा गोङ्वा, सुरेश डङ्गोल र कमल परियारलाई पिटिए सदस्य चयन गरेको छ । पिटिएमा शिक्षकमध्येबाट सहायक प्रधानाध्यापक दीपकलाल श्रेष्ठ, बच्चु सापकोटा, सिमा हुमागाई र सरिता भट्टराई सदस्य रहनुभएको छ । सहायक प्रधानाध्यापक श्रेष्ठ पिटिएको सदस्य सचिव हुनुहुन्छ । १२ कक्षासम्म पठनपाठन हुने बालबोध माविमा गत बैशाख ३० गते प्रदीप अर्यालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो ।

शनिबार भएको अभिभावक भेलामा विद्यालयमा बैशाख महिनाभर शत्प्रतिशत् दिन उपस्थित हुने ४ जना शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ । विद्यालयमा शत्प्रतिशत दिन हाजिर हुनुहुने सहायक प्रधानाध्यापक दीपकलाल श्रेष्ठ, शिक्षक निरा कुमारी बडाल, कर्मचारी उमेश प्यकुरेल र रवी कठायतलाई सम्मान गरेको हो । विद्यालयले शिक्षक, कर्मचारीलाई प्रोत्साहित गर्न मासिक रुपमा सम्मान गर्ने योजना बनाएको बालबोध माविका मावि तहका संयोजक छवि सुवेदीले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालले विद्यालयको दिवा खाजा खुवाउनका लागि प्लेट र चम्चा खरिद गर्न ३० हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।