हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका छात्र रियाज कार्की माध्यमिक तहस्तरीय कविता प्रतियोगितामा प्रथम हुनुभएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको आमा शीर्षकको कविता प्रतियोगितामा सहभागी २५ जना प्रतिस्पर्धीमध्ये कार्की प्रथम हुनुभएको हो ।
प्रतियोगितामा हेटौँडा–५ स्थित जिएस निकेतनका छात्र समर्पण न्यौपाने द्वितीय, हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा रोशनी चौलागाई तृतीय, जिएस निकेतनका छात्र आदर्श पौडेल र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका छात्र सरोज प्रसाद साह सान्त्वना भएका छन् । मातातीर्थ औंसीको सन्दर्भमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टले माध्यमिक विद्यालयस्तरीय (कक्षा ९–१२) कविता प्रतियोगिता आयोजना गरेको हो ।
प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ८ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । यस्तै सान्त्वना हुने दुईजनलाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि आव्हान गर्दा प्राप्त ३७ वटा कवितामध्ये २५ वटा कविताको प्रारम्भिक सूचि तयार पारिएको थियो । प्रारम्भिक सूचिमा परेका कवितालाई शुक्रबार वाचन गर्ने अवसर प्रदान गरिएको थियो ।
विद्यार्थीलाई म्यानेजमेन्टको व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठ, सहायक प्रिन्सीपल रामपण्डित खनालले पुरस्कार वितरण गर्नुभयो । म्यानेजमेन्टले कविता प्रतियोगितासँगै आमा शीर्षकमै निबन्ध प्रतियोगिता पनि आयोजना गरेको छ । निबन्ध प्रतियोगिताको नतीजा एक सातापछि सार्वजनिक गरिने हेटौँडा स्कूल अफ म्यानेजमेन्टका नेपाली विभाग प्रमुख देवराज तिवारीले जानकारी दिनुभएको छ ।