हेटौंडाः चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औं स्थापना दिवसको अवसरमा ३ जनालाई सम्मानित गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै एकजना कलाकार र दुईजना पत्रकारलाई पुरस्कारसहित सम्मानित गरिएको हो ।
संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राजन घिमिरेलाई प्रदान गरेको छ । घिमिरेलाई १० हजार रुपैयाँ नगद राशिसहित २०८० को राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट प्रदान गरेको छ । करिब ३ दशकदेखि चलचित्र बिटमा कलम चलाउनुभएका घिमिरेलाई नगद १० हजार रुपैयाँ राशिसहित सम्मानपत्रले पुरस्कृत गरिएको छ ।
चलचित्र पत्रकारिता पुरस्कार संघले मकवानपुरका पत्रकार पोष्टराज अधिकारीलाई प्रदान गरेको छ । नगद ५ हजार रुपैयाँसहित चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’लाई सम्मानित गरिएको हो ।
यसैगरी चलचित्रकर्मी सम्मान–२०८० मकवानपुरका कलाकार सुलेमान शंकर (ईकु)लाई प्रदान गरिएको छ । मकवानपुरमा जन्मनु भई राष्ट्रिय कलाकारका रुपमा उहाँ स्थापित हुनुहुन्छ ।
संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बनियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उपमेयर बनियाँले कार्यक्रममा मन्तव्य राख्नुहुँदै सञ्चारकर्मीको समग्र हितमा बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामीको विशिष्ट आतिथ्य रहेको थियो । हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल लगायतको उपस्थिति थियो ।