हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माविको अध्यक्षमा प्रदीप अर्याल चयन हुनुभएको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिको बैठकले अर्याललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । गत चैत २९ गते भएको अभिभावक भेलाले अभिभावकमध्येबाट ४ जना सदस्य चयन, वडा प्रतिनिधि र शिक्षक प्रतिनिध चयन गरे पनि मनोनित गर्ने दुईजना सदस्य चयन गर्न सकेको थिएन ।
बैशाख ३० गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रदीप अर्याल र कमला बिश्वकर्मालाई सदस्यमा मनोनित गरेको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभयो । यसअघि अभिभावक भेलाबाट अभिभावकमध्येबाट सोवर्ण श्रेष्ठ, कृष्णदेव भण्डारी, शारदा अधिकारी र अप्सरा गौतमलाई सदस्य चयन गरेको थियो । वडाबाट अध्यक्ष उद्धव सत्याल र शिक्षक प्रतिनिधि छविलाल सुवेदी रहनुभएको थियो ।
६ सय विद्यार्थी अध्ययनरत बालबोध माविबाट यो वर्षको एसईईमा ३० जना र कक्षा १२ को वार्षिक परीक्षामा २४ जनाले परीक्षा दिएका छन् । चैतमा सम्पन्न अभिभावक दिवसको अवसरमा विद्यालयले ५० जना छात्रालाई निशूल्क साइकल समेत वितरण गरेको थियो । छात्रालाई नियमित विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले साइकल वितरण गरिएको प्रधानाध्याक रिजालले जानकारी दिनुभएको छ ।