हेटौंडाः हेटौंडा—४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विद्यालयका परीक्षा शाखा प्रमुख कृष्णगोपाल श्रेष्ठले आउँदो जेठ १२ गते दन्तरोगसम्बन्धी शिविर आयोजना गर्न लागिएको बताउनुभयो । विद्यार्थी र शिक्षकलाई लक्षित गरी उक्त शिविर आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
वार्षिक उत्सवकै अवसरमा गत शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिने श्रेष्ठले बताउनुभयो । यस्तै विभिन्न विधामा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई प्रोत्साहन स्वरुप पुरस्कृत तथा सम्मानित गरिने उहाँले जानकारी दिनुभयो । ५६ वर्ष पूरा गरी ५७ औं वर्ष प्रवेश गरेको विद्यालयको स्थापना दिवस के कसरी मनाउने भन्ने विषयमा छलफल भने हुन बाँकी रहेको उहाँको भनाई छ ।
विद्यालयको भौतिक वातावरणलगायतले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभाव परिरहेको हुन्छ । हरित वातावरणले जसकोहीँलाई पनि मन लोभ्याउन सकिन्छ । जसले गर्दा हरियाली वातावरणसँगै विद्यार्थी, अभिभावक र शिक्षकका लागि विश्राम लिने स्थल निर्माण गरिएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा नागरिकका लागि बनाइएका विश्राम स्थल जस्तै विद्यालयले पनि बनाइएको हो ।
सानासाना बालबालिकाका लागि बाल विकास केन्द्रका कक्षाकोठामा वाल पेन्टिङ पनि गरिएको छ । विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यले बालमैत्री झल्काउने पेन्डिङ गरिएको उहाँको भनाइ छ । जसले शैक्षिक वातावरणको अनुभूतिका लागि सहयोग पुग्ने उहाँको धारण छ । तुलनात्मक रुपमा पहिलाभन्दा भौतिक संरचनादेखि शैक्षिक कुरामा सुधार भएको बताउनुभयो । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीलाई व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गरिँदै आइरहेको उहाँको धारण छ । ५६ वर्ष पूरा भइरहँदा विद्यालयले भौतिक संरचनादेखि गुणस्तरीय शिक्षा प्रदान गर्न सबल भएको दावी छ । जेठ २ गते विद्यालयको स्थापना दिवस भएपनि कक्षा १२ का परीक्षा संचालन भइरहेकाले विद्यालयको स्थापना सरिएको जानकारी दिनुभयो । विद्यालयमा २ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनत् छन् ।











