३० औं मदन–आश्रित स्मृति सभामा सामुहिक तस्वीर खिचाउदै ।

हेटौंडाः मदन भण्डारी फाउण्डेशनले ३० औं मदन–आश्रित स्मृति दिवसमा मामाघरलाई आर्थिक सहयोग गरेको छ । बुधबार मदन भण्डारी फाउण्डेसनले सडक बालबालिका व्यवस्थापन गर्दै आएको मामाघर नेपाल मकवानपुरलाई नगद ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

स्मृति दिवसको अवसरमा फाउण्डेशनले हेटौंडा–११, सहिद स्मारकमा रहेको मदन बाटिकामा स्मृति सभा गरेको हो । सडक बालबालिकामुक्त समाज निर्माण अभियानमा रहेर २०६८ सालमा स्थापना भएको मामा घर नेपालले २ सय ८ जना सडक बालबालिकाको उद्दार गरेको छ । सडक उद्दार गरेका १ सय ४२ जना बालबालिकालाई पारिवारिक पुनर्मिलान गराएको छ । हाल मामाघर नेपालमा १८ जना आश्रित (भान्जाहरु) रहेका छन् ।

फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको थियो । सभामा नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।