हेटौंडाः हेटौंडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि आयोजक हेटौंडा चेस क्लबका फिडे मास्टर रुपेश जैसवालले जितेका छन् । मंगलबार सम्पन्न प्रतियोगिताको उपाधि हात पार्दै जैसवालले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन् ।
नेपाल च्याम्पियनसमेत रहेका जैसवाल हेटौंडाका निवासी हुन् । प्रतियोगितामा काठमाडौंका सुरवीर लामा द्वितीय र हेटौंडाका अनिल राजबाहक तृतीय भएका छन् । द्वितीय लामाले ५० हजार रुपैयाँ र तृतीय राजबाहकले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ललितपुरका विलमलाल श्रेष्ठ चौथो र कपन चेस क्लबका सुस्रत दाहाल पाँचौ भएका छन् । दुबै जनाले २०–२० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
छैटौं भएका हेटौंडा चेस क्लबका पुरुषोत्तम चौलागाईं, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुवास्थ र श्रीलंकाकी एसडी रणसिंगेले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको वेस्ट लोकल सुन्दर कार्की, वेष्ट महिला खेलाडी सिन्धिरा जोशी, वेष्ट भेट्रान नवीन ताण्डुकार, वेष्ट यु–१२ अबिन पाण्डे, वेष्ट यु–१४ आयुष डेमनदौरा, यु–१६ तर्फ पुरुषोत्तम सिलवाल, यु–१८ तर्फ रिसोन थापा घोषित भएका छन् । यस्तै वेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, वेष्ट रेटिङ १४०० मा सुजन कुमाल, वेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सिना घोषित भएका छन् । वेष्ट सबैलाई १०–१० हजार रुपैया“ प्रदान गरेको छ । प्रतियोगितामा विजेताहरुलाई बागमती प्रदेश सरकारको सामजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य एवम् नेपाल चेसका पूर्व केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठ, बुद्धिचाल संघको केन्द्रीय महासचिव एवम् हेटौंडा चेस क्ल्बका अध्यक्ष धरम लामा र मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा शुक्रबारदेखि भएको प्रतियोगितामा करिब ९० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।