हेटौँडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता यही जेठ ७ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मकवानपुर जिल्लामा ९ खेल खेलाइँदैछ भने एउटा खेल चितवन, एउटा ललितपुर र २ वटा काठमाडौंमा खेलाइने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभएको छ ।
मंगलबार सामाजिक विकास मन्त्रालयको सभाकक्षमा सामाजिक विकासमन्त्री कुमारी मुक्तानको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको थियो । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जेठ ७ गते उद्घाटन हुने प्रतियोगिताअन्तर्गत हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला फुटबल हुनेछ । पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र एथ्लेटिक्स हुनेछ । हेटौंडा–४, हुप्रचौरमा महिला र पुरुष भलिबल, रग्वी, कराँते, तेक्वान्दो र आइटिएफ तेक्वान्दो, हेटौँडा–४ स्थित कभर्डहलमा बक्सिङ, हेटौंडा–११ स्थित कभर्डहलमा व्याड्मिन्टन, उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरमा र क्रिकेट चितवनमा हुनेछ ।
प्रतियोगिता आयोजनाका लागि ९ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि विभिन्न समितिहरु निर्माण गरिएको सदस्य सचिव भण्डारीले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बागमती प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री मुक्तानले खेलकुदका गतिविधि बढाउने र पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने पनि बताउनुभएको छ । पहिलो संस्करणमा ८ वटा खेल खलाइएको प्रदेश खेलकुद प्रतियोगितामा यस पटक १३ वटा खेल खेलाइँदैछ ।