हेटौँडाः भ्रष्टाचारविरुद्ध नागरिक सचेतना र जागरणका लागि सर्जक सञ्जाल मकवानपुरको आयोजनामा आज मंगलबार हेटौँडाको संगमचोकमा रचनावाचन कार्यक्रम हुँदैछ । आइतबारदेखि सुरु भएको साताव्यापी कार्यक्रम हरेक दिन साँझ ५ बजेदेखि करिब ३० मिनेट एक साता निरन्तर सञ्चालन गरिँदैछ ।
साहित्यकारहरुको कार्यक्रमको सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जले प्रत्यक्ष प्रसारण समेत गर्ने गरेको छ । पहिलो दिन आइतबार हेटौँडाको बुद्धचोकबाट सुरु भएको अभियान हिजो सोमबार हेटौंडा–४, शितलमहलचोकमा आयोजना गरिएको थियो । साहित्यकारहरुले भ्रष्टाचारविरुद्ध सचेतना र जागरणका लागि कविता, गीत, गजल, मुक्तक, लघुकथा, सुत्रकथा प्रस्तुत गर्ने गरेका छन् ।
नेपाली नागरिकलाई नै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानदेखि गृहमन्त्री र बहालवाला सचिवसमेत पक्राउ परेपछि साहित्यकारहरुले भ्रष्टाचारविरुद्धको सचेतना अभियान सञ्चालन गरेको हो । यो अभियान एक सातासम्म सञ्चालन हुने सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिलले बताउनुभएको छ ।